मेचीनगर, २७ असोज । वडादशैं तथा शुभ दिपावलीको अवसर पारेर खुट्टीडाँगी युवा परिवारको आयोजनामा भएको टोल अन्तर स्तरीय फुटबल प्रतियोगितामा आयोजक खुट्टीडाँगी क्षेत्रले विजयी सुरुवात गरेको छ ।
शनिबार कवि शिरोमणि माविको खेल मैदानमा भएको उद्घाटन खेलमा लीला बस्ती क्षेत्रलाई शून्यका विरुद्ध २ गोल गर्दै खुट्टीडाँगीले पराजित गरेको हो ।
दुवै टिमको प्रतिस्पर्धात्मक खेलमा खुट्टीडाँगीका खेलाडी सोवित कटुवाले १५ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा एकको अग्रता लिएको खुट्टीडाँगीले दोस्रो हाफको ३५ औं मिनेटमा साहिल तामाङले थप गोल गरेर जीत पक्का गरे ।
आइतबारको खेल झरना क्षेत्र र चियावल्नी क्षेत्रबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ । प्रतियोगिता वडा नं ९ मा रहेका ८ वटा टोल क्षेत्रका टीम सहभागी छन् ।
आयोजक कमिटीका अध्यक्ष शितल लिम्बूको अध्यक्षता तथा मेचीनगर नगरपालिका–९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा कविशिरोमणि मावि विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष संगीता थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मेचीनगर–९ का वडा सदस्य धनकुमार श्रेष्ठ, सुष्मा कार्की डोली, रिदम नेपाल मेचीनगर–९ का अध्यक्ष रुद्र रोक्का, मेचीनगर रेडक्रस सोसाइटीका सभापति रमेश दाहाल, समाजसेवी तेजप्रसाद चौलागाईं, चन्द्रमणि पौडेल, उद्धव बानियाँ, जानुका ओली लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगदसहित शील्ड, ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्नेछ । स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ फुटबल प्रतियोगिता आयोजना गरिएको हो । फाइनल खेल कात्तिक ४ गते हुनेछ ।
उद्घाटन कार्यक्रमको सञ्चालन स्थानीय पत्रकार झुलन रेग्मीले गरेका थिए ।
Discussion about this post