झापा, १८ मंसिर । नेपाल–भारतको सीमा नाका मेचीनगर नगरपालिकादेखि गौरीगञ्ज गाउँपालिका सम्म रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत सुरु गरिएको छ ।
सशस्त्र प्रहरी बल भद्रपुर २ नं.गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ ५५ अन्तर्गतको ९१÷१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी)बाट मर्मत सुरु गरिएको हो ।
मेचीनगर मेयर गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोलाले सीमा स्तम्भमा संयुक्त रुपमा रंगरोगन गरेर सुरु गरेका थिए ।
बाहिनीपति पोखरेलले कोशी प्रदेशमा पहिलोपल्ट नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार सुरु भएको बताए । उनले कोशी प्रदेशभर भारतसँगको चार सय ३० किलोमिटर लामो खुला सीमानामा कूल ९५७ वटा सीमा स्तम्भ रहेको र सीमा सुरक्षाका लागि एक हजार ५ सय जनशक्ति परिचालन गरिएको जानकारी दिए ।
नेपाल र भारतको बोर्डर वर्किङ ग्रुपको सहमति अनुसार जोर अंकका सीमा स्तम्भको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अंकका सीमा स्तम्भको मर्मत सम्भार नेपाली पक्षले गर्ने सहमति छ । भारतीय पक्षले झापा जिल्लासँग सीमाना जोडिएका जोर अंकका सीमा स्तम्भहरुको मर्मत सम्भार पहिल्यै गरिसकेको छ ।
झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमामा नेपाली पक्षले बिजोर अंक भएका ३१७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने सशस्त्र प्रहरी बलको २ नं गण भद्रपुरका गणपति देवराज अर्यालले बताए । मर्मत सम्भार क्रममा भत्किएका र ढलेका स्तम्भहरुको पुनःस्थापना र सबै स्तम्भको रंगरोगन गरिने उनले बताए ।
सतिघट्टादेखि उत्तरतर्फ इलाम सम्मको सीमा स्तम्भहरु भने हाल मर्मत सम्भार नगरिने उनले बताए । उक्त क्षेत्रका कतिपय सीमा स्तम्भहरु मेची नदीको बाढीले हराएका वा पुरिएको अनुमान गरिएको छ ।
नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भहरुको सुरक्षा र मर्मत सम्भारको जिम्मेवारी दिएको छ । सतिघट्टा हुँदै दक्षिणतर्फका सबै सीमा स्तम्भहरुको मर्मत सम्भार गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।
सतिघट्टामा नेपाली पक्षले सीमा स्तम्भहरुको मर्मत सम्भार सुरु गरेको कार्यक्रममा भारत पश्चिम बंगालको पानीटंकीस्थित भारतीय सीमा सुरक्षा बलको ४१ नं. बटालियनका निमित्त कमाण्डर नविनकुमार रायको सहभागिता रहेको थियो ।
Discussion about this post