झापा, १४ पुस । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०÷१० लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले बालकुमारी घटनामा मारिएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले घटनामा घाइते हुनेहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै सरकारले घटनाको सम्बन्धमा निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्ने र सुरक्षा निकायलाई सतर्क, संयमित र प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । ‘यस्ता घटना हुन नदिने गरी शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध छ’, शर्माले भनिन् ।
पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको थियो ।
Discussion about this post