शिवसताक्षी, २८ माघ । शिवसताक्षीमा जारी १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लालपानी माध्यमिक विद्यालयले उचालेको छ ।
लालपानी माध्यमिक विद्यालयले प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र १ कास्य पदक प्राप्त गर्दै उपाधि हात पारेको हो ।
त्यस्तै रनिङ शिल्ड प्रतियोगितामा झिलझिले माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गरेको छ । झिलझिलेमा माविले ७ स्वर्ण, २ रजत र ६ कास्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
त्यसैगरी प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयले तेस्रो स्थान प्राप्त गरेको छ ।
विजेता विद्यालय तथा विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाका उपमेयर नरमाया कार्की, सामाजिक विकास समिति संयोजक हर्क सिगु, नगरपालिकाका शिक्षा शाखा प्रमुख छविलाल ढकाल, शिक्षक महासंघ अध्यक्ष बेनुप्रसाद कार्की लगायतले शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही माघ २५ गतेदेखि शिवसताक्षीको भगवती माध्यमिक विद्यालयमा सञ्चालन भएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, दौड, एथलेटिक्स, कराँते लगातका खेल विधाहरु समावेश गराइएको थियो ।
नगरका सामुदायिक तथा निजी विद्यालयहरुका ६ सय विद्यार्थीहरुले खेलमा सहभागिता जनाएका थिए । रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रत्येक विधाका एउटा टिमले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।
सामाजिक विकास समिति संयोजक हर्क सिगुको अध्यक्षतामा भएको थियो भने रनिङ शिल्ड प्रतियोगिताभरि कार्यक्रमको सञ्चालन शिक्षक कमल भट्टराईले गरेका थिए ।
Discussion about this post