धुलाबारी, २८ माघ । मेचीनगर बचत तथा ऋण सहकारी संस्था(साकाेस) मेचीनगर-९ ले आफ्नो १६ औँ वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेकाे छ ।
आज सहकारीको आफ्नै सभाहल धुलाबारीमा आयोजित कार्यक्रममा सामाजिक व्यक्तित्व सम्मान, संस्थापक शेयर सदस्य सम्मान, जेष्ठ नागरिक सम्मान तथा पुरस्कार वितरण गरिएको हाे ।
सहकारीले यसवर्ष उत्कृष्ट सामाजिक व्यक्तित्वको रुपमा शिवकुमार पौडेललाई सम्मान गरेको छ ।
पाैडेल बुद्धशान्ति गाउँपालिका-५ का स्थायी बासिन्दा हुन् । उनी शैक्षिक तथा सामाजिक अभियन्ताका रुपमा परिचित छन् । लामो समय शिक्षण पेशामा रही काम गरिसकेका पौडेललाई नगद ५ हजार १०० सहित प्रमाण पत्रले सम्मान गरिएको थियाे । सम्मानित पौडेलको संक्षिप्त जीवनीका बारे विनोद खनालले चर्चा गरेका थिए ।
यस्तै, संस्थाका संस्थापक ३१ जना शेयर सदस्यलाई एकसाथ सम्मान गरिएको छ । संस्था स्थापना गरी यहाँसम्म ल्याई पुर्याउन योगदान गरेवापत सहकारीले उनीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा जेष्ठ शेयर सदस्यलाई पनि सम्मान गरिएको छ । नगदसहित १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएकोे छ ।
नौमती बाजा सिकाई कार्यक्रममा सहभागी प्रमुख प्रशिक्षार्थीसहित १३ जनालाई सम्मान गरिएको व्यवस्थापक मानस सिटौलाले बताए ।
सहकारीले लोक संस्कृतिलाई जीवन्त राख्दै व्यावसायिक बनाउन महिलाहरुलाई नौमती बाजा बजाउने प्रशिक्षण दिएको थियो । एक महिनाको प्रशिक्षणपछि नौमती बाजा बचाउन उनीहरु दक्ष भइसकेका छन् ।
मेची-काली नौमती महिला बाजा समूह नामाकरण गरिएको छ । नौमती बाजाको प्रमुख प्रशिक्षक मातृका संग्रौला थिए । उनलाई पनि सम्मान गरिएको छ ।
बार्षिकोत्सवकै अवसरमा गत माघमा आयोजित अन्तर शाखा बाल क्लब हाजिरी जवाफ प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
जसमा धुलाबारी सेवा केन्द्र प्रथम भएको थियो भने दोस्रो बुधबारे र तेस्रो बिर्तामोड सेवा कार्यालय भएको छ । विजयी स्थान हासिल गरेकालाई नगदसहित प्रमाण पत्र वितरण गरिएको छ ।
संस्थाले बालबालिकालाई संस्थाको गतिविधिका बारेमा जानकारी गराउन बाल क्लब गठन प्रक्रिया अगाडि बढाइरहेको छ । हालसम्म तीनवटा बाल क्लब गठन भइसकेका छन् ।
साकाेसका अध्यक्ष शिवकुमार रेग्मीको अध्यक्षता तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९ नम्बर वडाका वडाध्यक्ष कञ्चनकुमार तामाङ, सम्मानित व्यक्ति शिवकुमार पौडेल, पूर्वीद्वार साकोसका अध्यक्ष विपी भट्टराई, मातृका संग्रौला, विद्यार्थी प्रान्जल घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
सहकारी संस्थाका उपाध्यक्ष हरिदास ढुंगानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव संगीता गजुरेलले गरेकी थिइन् ।
Discussion about this post