बाहुनडाँगी, १५ चैत । कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा कचनकवल फुटबल क्लबलाई २–० ले हराउँदै बाहुनडाँगी युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
मेचीनगर–४ स्थित सरस्वती मावीको खेल मैदानमा आज उद्घाटन खेलमा बाहुनडाँगी क्लबका रिक्की प्रधान र श्याम मुर्मुको १–१ गोल नै निर्णयक बन्न पुग्यो ।
खेलको १७ औं मिनेटमा पहिलो गोल गर्दै बाहुनडाँगीका कप्तान समेत रहेका प्रधानले टिमलाई अग्रता दिलाएका थिए ।
खेलको २९ औं मिनेटमा बाहुनडाँगीका श्याम मुर्मुले दोस्रो गोल गरे । विपक्षी टिमका गोलरक्षक केही अघि बढेको मौकालाई सदुपयोग गर्दै प्रहार गरेको उनको गोलले जाली चुमेको थियो ।
कचनकवलले गोल गर्नका लागि विभिन्न अवसरहरु गुमाएको थियो । खेलको म्यान अफ द म्याच बाहुनडाँगीका पहिलो गोलकर्ता प्रधान घोषित भए । उनले १५ हजार नगद प्राप्त गरे ।
भोलिको खेल शनिश्चरे फुटबल क्लब र रोलिङ क्लब धुलाबारीबीच प्रतिस्पर्धा हुनेछ । आजदेखि शुरु भएको प्रतियोगिता चैत २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजेताले नगद १ लाख एक हजार र उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
उद्घाटन कार्यक्रमको प्रमुख अतिथि झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत रहेका थिए । उनले खेल क्षेत्रको विकासका लागि बाहुनडाँगी जेसीजले योगदानप्रति प्रशंसा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वस्नेत, कार्गिल सहिद सुरेश थापा क्षेत्रीका भाइ नेत्रराज थापा क्षेत्री, बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष नवीन बराल, मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुस्मिता भण्डारीले गरेकी थिइन् ।
Discussion about this post