बिर्तामोड, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक्ल्याउन गरिएको कांग्रेसको स्वार्थको गठबन्धन भत्किएको बताएका छन् ।
आज बिर्तामोड स्थित अग्रसेन भवनमा पार्टीको ११ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसको गठबन्धन भत्कनै पर्ने भएकोले एमालेले परिस्थिति सम्हाल्न नयाँ गठबन्धन गर्नु परेको बताए ।
‘वर्तमान सत्ता समीकरण देश विकासका लागि भएको हो’, ओलीले भने–‘मिसन ८४’ पार्टीको अर्जृनदृष्टि हो । आगामी चुनावमा एमालेले एक्लै सरकार चलाउन पुग्नेगरी बहुमत ल्याउन ‘मिसन ८४’ को तयारी छ ।’
कार्यक्रममा पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सल्लाहाकार संयोजक अमृतकुमार बोहोरा, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, झापा इञ्चार्ज विशाल भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सोही अवसरमा विगतमा झापा पार्टीको नेतृत्व हाँकेका र योगदा गरेका अग्रज नेताहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा पार्टीकी उपाध्यक्ष एवम् पूर्वमुख्यमन्त्री शाक्य, सल्लाहाकार संयोजक बोहोरा, झापा विद्रोहका अगुवा नेता नरेश खरेल, कालिदास श्रेष्ठ, शोभा कुँवर, पृथ्वी मैनाली, सुमित्रा प्रसाई, सावित्रा खड्का, अन्तलाल धिमाल, जानुका सिटौला लगायत छन् ।
त्यस्तै युवा वैज्ञानिक सविन बाँस्कोटा, लाहा उद्योगी डम्बरकुमार विश्वकर्मा, झापा इनर्जीका सञ्चालक एलपी साँवा, तारा नमस्ते बाल आश्रमका अध्यक्ष नारायणप्रसाद पोखरेल लगायतलाई समेत पार्टीले सम्मान गरेको छ ।
एमाले झापाका कार्यवहाक अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपसचिव असारु राजबंशीले र सञ्चालन सचिव शिव ढुंगेलले गरेका थिए ।
अधिवेशन भोलिसम्म सञ्चालन हुनेछ । जिल्लाको नेतृत्व सर्वसम्मत हुने गरी छलफल अघि बढिरहेको बताइएको छ ।
Discussion about this post