मेचीनगर, ४ बैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वी नाका खुलाउन कुटनीतिक पहल गर्ने बताएका छन् ।
आज मेचीनगर नगरपालिकाले पूर्वी नाका लगायतका समस्याका विषयमा आयोजना गरेकाे कार्यक्रममा सभामुख घिमिरेले यस्ताे कुरा बताएका हुन् ।
उनले तेस्राे देशका पर्यटकलाई नेपाल आउन भारतले राेकेका कारण त्यसका लागि पराष्ट्रमन्त्रालय मार्फत ध्यानाकर्षण गराइने बताए ।
´केहिदिनअघि अमेरिकाबाट भारत हुँदै नेपाल आउन लागेका भुटानीहरूलाई भारतले राेक्याे । विदेशी पर्यटकलाई भारतले राेक्नु विडम्बना छ । त्यसका लागि भारतसँग कुरा गर्नेछाैँ ।`
सभामुख घिमिरेले नाकामा वैध धन्दालाई भन्दा पनि अवैध कामलाई प्राेत्साहित गर्न नहुने बताए ।
कार्यक्रममा मेचीनगरका पूर्व मेयर विमल आचार्यले राजनीतिमा मात्र गठबन्धन हुने गरेकाे छ, व्यापारमा पनि गठबन्धन गरेर अघि बढ्न सुझाएका थिए ।
श्रीप्रसाद मैनालीले भारत र तेस्राे मुलुकबाट आउने पर्यटकलाई नाकामा यातायातका सहज गर्न पहल गर्नुपर्ने बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य केशवराज पाण्डेले पूर्वमा चाइनासँग व्यापार सहज गर्नका लागि ताप्लेजुङकाे सीमा नाका ओलाङचुङगाेला नाका खुलाउन सभामुखलाई ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले व्यापार सहज गर्ने हाे भने भारतकाे कलकत्तामा गरिने ल्याव टेष्ट पानीट्याङकीमा राख्न सरकारलाई सुझाव दिएका थिए ।
सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले भारतमा चियाकाे व्यापार गर्न समस्या रहेको बताए ।
उनले पानीट्याङ्की कस्टमले चियाकाे परीक्षण गर्न स्यापुलका लागि कलकत्ता लाने गरेकाे छ, परीक्षण गरेर आउँदा चिया बिग्रिसकेकाे हुन्छ । चिया व्यवसायीहरू संकटमा रहेकाे बताए ।
मेची उद्योग बाणिज्य संघका महासचिव दिनेश शाक्यले नाका बन्दका कारण उद्योगी-व्यापारी मारमा परेकाे बताए ।
सुपारी व्वसायी निलकण्ठ तिवारीले नेपालमा उत्पादित सुपारी भन्दा विदेशी सुपारीलाई प्राेत्साहन गरिरहेकाेले समस्या आएको दावी गरे ।
कार्यक्रममा मेचीनगरका मेयर गाेपालचन्द्र बुढाथोकीले नगरका कृषि, पर्यटन, व्यापार, भारतले विदेशी पर्यटकलाई नाकामा राेक लगाएकाे लगायतका विषयमा तयार गरेकाे ज्ञापनपत्र सभामुख घिमिरेलाई हस्तान्तरण गरेका थिए ।
उपमेयर मीना पाेखरेल उप्रेतीले पूर्व नाकामा राजश्व घाटा, नाकामा विदेशी पर्यटकलाई राेक, लकडाउन, मन्दी व्यापार लगायतका विषयमा स्वागतसहित औँचित्यमाथि प्रकाश पारेका थिइन् ।
कार्यक्रमकाे सञ्चालन मेचीनगर-९ का वडाध्यक्ष कचनकुमार तामाङले गरेका थिए ।
Discussion about this post