झापा, १२ बैशाख । पूर्व-पश्चिम राजमार्ग सडक खण्डकाे शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिलेमा बोलेरो जीपको ठक्करबाट मृत्यु भएका माेटरसाइकलमा सवार तीनै जनाकाे सनाखत भएको छ ।
मृत्यु हुनेहरुमा कमल गाउँपालिका-४ निवासी २० वर्षीय युनिस भण्डारी, सोही ठाउँका १७ वर्षीय सरोज रेग्मी र २५ वर्षीय मोटरसाइकल चालक मौसम राई रहेका छन् ।
एउटै ठाउँका उनीहरु दोमुखामा पौडी खेल्न मोटरसाइकलमा जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।
उक्त दुर्घटना झिलझिल ट्राफिक पाेष्टदेखि १०० मिटर पूर्व भएको थियाे । तीनै जना युवाको मृत्युले पूरै गाउँ शोकमग्न भएको छ ।
आज बुधवार बिहान साढे ५ बजेको समयमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सीसीको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो जीप एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।
माेटरसाइकल र बोलेरो चालक मेचीनगर नगरपालिका-६ का ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।
Discussion about this post