झापा, ३० बैशाख । काफ्ले समाज जिल्ला कार्यसमिति झापाको अध्यक्षमा गोपाल काफ्ले पुनः निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार बिर्तामोडमा सम्पन्न समाजको दोस्रो जिल्ला सम्मेलनमा मनोनयन पत्र दर्ता गर्दा अध्यक्षमा काफ्लेको मात्र मनोनयन परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन् ।
सम्मेलनको बन्द सत्रले आगामी २ वर्षे कार्यकालका लागि गोपाल काफ्लेको नेतृत्वमा १७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको निर्वाचन अधिकृत तोयानाथ काफ्लेले बताए ।
समितिको उपाध्यक्षमा यामनाथ काफ्ले, महिला उपाध्यक्षमा सीतादेवी काफ्ले, सहसचिवमा रोहित काफ्ले र कोषाध्यक्षमा रमेशकुमार काफ्ले सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष यामनाथ र कोषाध्यक्ष रमेश पनि सोही पदमा निर्विरोध दोहोरिएका हुन् ।
यसैगरी, सदस्यहरुमा दुर्गा काफ्ले, कमल काफ्ले, प्रेम काफ्ले, होमनाथ काफ्ले, सुनिता काफ्ले, दुर्गाकुमारी काफ्ले, प्रकाश काफ्ले, टुम्मनाथ काफ्ले, हेमराज काफ्ले र बासुदेव काफ्ले छन् । समाजको जिल्ला कार्यसमिति चयन गर्न समाजका केन्द्रीय सदस्य तोयानाथ काफ्लेको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति, समाजका अग्रज अभिभावक गोविन्द काफ्ले लगायतले खादा र अविर पहिर्याएर बधाईसहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समाजको कोशी प्रदेश उपाध्यक्षसमेत रहेकी निर्वाचन समितिका सदस्य दुर्गा खनाल (काफ्ले)ले चुनिएका सबैलाई पद तथा गोपनियताको शपथ खुवाएकी थिइन् । समाजको दोस्रो कार्यकालका लागि फेरि अध्यक्ष पदमा निर्वाचित भएपछि अध्यक्ष गोपाल काफ्लेले प्रतिबद्धता मन्तव्य राखेका थिए ।
सम्मेलनको उद्घाटन सत्रमा अध्यक्ष गोपाल काफ्लेद्वारा प्रस्तुत सौगांठानिक प्रतिवेदन तथा नीति कार्यक्रमहरु र कोषाध्यक्ष रमेशकुमार काफ्लेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । सम्मेलनको उद्घाटन काफ्ले समाजका निवर्तमान केन्द्रीय अध्यक्ष ख्यामनारायण काफ्लेले गरेका थिए ।
त्यसक्रममा प्रमुख अतिथि ख्यामनारायण काफ्लेले देशमा क्रियाशील काफ्ले बन्धुका दुईवटा समाज क्रियाशील रहेकाले एकीकरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।
यसैबीच, सम्मेलनको सन्दर्भ पारेर बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा स्वास्थ्य शिविरमा ४७ जनाले आँखा जँचाएका थिए । त्यसक्रममा १ जनामा मोतिया विन्दू फेला परेको, १२ जनामा दृष्टिदोष लगायत समस्या देखिएको दृष्टिरोग विशेषज्ञ गणेश खड्काले जानकारी दिए ।
समाजका जिल्ला अध्यक्ष गोपाल काफ्लेको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन सत्रमा उपाध्यक्ष यामनाथ काफ्लेले स्वागत र सञ्चालन सचिव गोविन्द काफ्लेले गरेका थिए ।
Discussion about this post