मेचीनगर, २६ असार । सेवाग्राहीहरुले हालसाविक भएका जग्गाको धनिपूर्जा लिन नआएपछि १ नं. नापी टोली चारआली कार्यालयमा धनिपूर्जा थुप्रिएको छ ।
नापी कार्यालय भद्रपुर १ नं. नापी टोली मेचीनगरको चारआली स्थित कार्यालयमा ६ हजार भन्दा बढी हाल साविक भएका जग्गाको धनिपूर्जा थुप्रिएको हो ।
नापी अधिकृत एवम् १ नं. नापी टोली प्रमुख सञ्जयकुमार सिंहका अनुसार मेचीनगर–४, ५, ६, ७, ८, १०, ११ र १२ नम्बर वडाका हालसाविक भएका ६ हजार ३४ वटा धनिपूर्जा कार्यालयमा रहेको छ ।
‘८ वटा वडाको हालसाविक भएको उक्त संख्याका धनिपूर्जा बनेर तयारी अवस्थामा छ’, टोली प्रमुख सिंहले भने–‘धनिपूर्जा कार्यालयमा थुप्रिसक्यो । तर, सेवाग्राही लिन आएका छैनन् । जानकारी नभएर हो वा समय नभ्याएर हो, त्यो चाहिँ थाहा भएन ।’
कार्यालयले गत महिनाको जेठ १८ गते एक कार्यक्रमको आयोजना गरेर वडा नम्बर ११ र १२ का ३४ जना नागरिकलाई धनिपूर्जा वितरण गरेको थियो । त्यतिबेला वडा नम्बर ११ का २७ जना र १२ का ७ जना सेवाग्राहीले कार्यालयबाट धनिपूर्जा लगेका थिए ।
धनिपूर्जा वितरण कार्यक्रममा नापी विभागका नापी अधिकृतद्वय रुपेश श्रेष्ठ र युवराज आचार्य, जिल्ला नापी कार्यालयका प्रमुख सुनिल आनन्द, टोली प्रमुख सिंह, वडा नं. ११ का वडाध्यक्ष रुद्र डाँगी, १२ का वडाध्यक्ष मधुसुदन कोइराला लगायतको उपस्थिति रहेको थियो ।
कार्यालयका सर्भेक्षक शिवकुमार चौधरीले वडा नम्बर ४ को ३१२, वडा नम्बर ५ को ४८०, वडा नम्बर ६ को ५३०, वडा नम्बर ७ को ४४४, वडा नम्बर ८ को ४३७, वडा नम्बर १० को ३४३७, वडा नम्बर ११ को ३०६ र वडा नम्बर १२ को ८८ वटा धनिपूर्जा तयारी अवस्थामा रहेको जानकारी दिए ।
उनले वडा नम्बर १, २, ३, ९, १३, १४ र १५ का सेवाग्राहीहरुको जग्गाको हालसाविक गर्ने काम भइरहेको बताए ।




Discussion about this post