झापा, २१ भदौ । साढे नौ महिनापछि नेपालमा प्रतिबन्ध भएको टिकटक आजदेखि चल्न थालेको छ ।
सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएसँगै टिकटिक चल्न थालेको हो ।
शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए ।
टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो ।
सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २०८० कात्तिक २७ गते टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत भदौ ६ गते मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो ।
टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो ।
टिकटकले आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै सामाजिक दुर्भावना फैलाउने खालका ‘कन्टेन्ट’ भित्र रहेका शब्द, वाक्यहरूको अंग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्न पनि तयार भएको छ ।
Discussion about this post