मेचीनगर, ६ कात्तिक । इलामको रेड हर्ष एफसी धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज धुलाबारी माविको खेल मैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा कोशी पुलिस क्लबमाथि रेड हर्स एफसीले जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
रेड हर्सले टाइब्रेकरमा पुलिसलाई ३–१ गोल अन्तर हराएको हो । यसअघि भएको संघर्षपूर्ण निर्धारित समयमा दुवै टोलीबीच १–१ गोलको बराबरी भएको थियो ।
खेलको २० औँ मिनेटमा पुलिसका रमेश राजवंशीले पहिलो गोल गर्दै अग्रता दिलाए पनि खेलको ७५ औँ मिनेटमा रेड हर्सका प्रदीप बुढाथोकीले गोल फर्काएर स्थिति बराबरीमा ल्याएका थिए ।
खेलको प्लेयर अफ द म्याच रेड हर्सका गोल किप्पर तथा कप्तान विवेक मगर भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।
उनलाई प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, खेलप्रेमी राजन चिमरिया लगायतले नगद तथा ट्रफी प्रदान गरे ।
फाइनल प्रवेशका लागि भोलि आयोजक रोलिङ क्लब र विराटनगरको सम्राट स्पोर्टिङ क्लबबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्का बताए ।
Discussion about this post