सुरुङ्गा, १६ मंसिर । झापाको कनकाई नगरपालिका–६ मा स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएको छ ।
कनकाई वडा नम्बर ६ मा आज विहान ७ वजे सुरु भएको मतदान साँझ ५ वजे सम्पन्न भएको हो ।
आइतबार सम्पन्न मतदानबाट एक हजार ५१३ मत खसेको निर्वाचन आयुक्तले जनाएको छ । वडा नम्बर ६ मा कुल मतदाता २ हजार ५८ जना रहेका छन् ।
८२४ महिला र ६८९ जना पुरूष गरी १ हजार ५१३ जनाले मतदान गरेका हुन् । मतगणना पेटिका लाहा छाप गरेर निर्वाचन अधिकृतको कार्यालयमा नै राखिएको छ ।
सर्वदलिय वैठक बस्ने तयारी भएको छ । राति ८ वजेपछि मतगणना हुने र राति करिव १२ वजेसम्ममा सक्ने श्रोतले जनाएको छ ।
उपनिर्वाचनमा कनकाई–६ को वडाध्यक्ष पदका लागि नेपाली कांग्रेस तर्फका रामगोपाल ओली, नेकपा एमालेका तर्फका वडाध्यक्षमा तुलाराम बस्नेत, नेकपा माओवादीका तर्फबाट वडाध्यक्षमा गणेश थापा, स्वतन्त्रका तर्फबाट वडाध्यक्षमा लक्ष्मीप्रसाद ओली, राप्रपाका तर्फका वडाध्यक्षमा नारायणप्रसाद निरौला उम्मेदवार बनेका छन् ।
त्यस्तै वडाध्यक्षहरुमा संघीय लोकतान्त्रीक राष्ट्रिय मंचका दलबहादुर श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनका पदमबहादुर तामाङ, जनमत पार्टीका शुकलाल राजवंशी र नागरिक उन्मुक्ति पार्टीका जमुना राजवंशी उम्मेदवार रहेका छन् ।
कनकाई–६ का वडाध्यक्ष दीर्घबहादुर थापाको ६६ बर्षको उमेरमा गत असारमा निधन भएपछि रिक्त वडाध्यक्ष पदका लागि निर्वाचन भएको हो ।
Discussion about this post