मेचीनगर, २१ माघ । स्थानीय पत्रकार हरिकृष्ण भण्डारीले पहिलो पटक पुराणमा कथा वाचन गर्ने भएका छन् ।
मेचीनगर नगरपालिका–१२ स्थित सहरेडाँगी निवासी पत्रकार हरिकृष्ण भण्डारीले स्थानीय ठाउँमा आगामी फागुन ७ गतेदेखि १४ गतेसम्म हुन लागेको श्रीमद्भागवत सप्ताह एवम् धनधान्याचल विराट् ज्ञानमहायज्ञमा पंण्डितका रुपमा कथा वाचन गर्ने भएका हुन् ।
झापाको मनकामना कलेजबाट पत्रकारितामा स्नातक गरिसकेका भण्डारीले भारतको बनारसमा गएर आचार्यको परीक्षा समेत दिइसकेका छन् । परीक्षाको नतिजा आउन भने बाँकी रहेको उनको भनाई छ । भण्डारी झापाका विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका अनुभवि र इमानदार पत्रकार हुन् ।
भारत र नेपालका गुरुकुलमा वेद र संस्कृतका पुस्तकहरु अध्ययान गरिरहेका भण्डारीले पंण्डितको पद पाइसकेका छन् । उनले विभिन्न स्थानमा गएर पुराणमा कथा प्रवचन गर्न रोकटोक छैन् ।
सहरेडाँगी स्थित श्री माधव संस्कृत विद्याश्रम एवम् माधवेश्वर शिव पाञ्चायतन मन्दिरमा आयोजना हुन लागेको पुराणमा उनले आफ्नै ठाउँबाट कथावाचन सुरु गर्ने भएका हुन् ।
कक्षा ७ सम्म पढाई हुने उक्त गुरुकुलमा ५१ जना वटुक (विद्यार्थी)हरु रहेका छन् । उनीहरुको निःशुल्क भोजन, आवास एवम् पठनपाठन सञ्चालन, ११ लाखको अक्षयकोषलाई वृद्वि गर्ने, निर्माणाधिन भवन पूरा गर्ने, गुरुकुलको स्तरोन्नती लगायतका कामका लागि पुराण आयोजना गरिएको गुरुकुलका सहयोगी एवम् शैक्षिक अभियन्ता प्रेमसागर घिमिरेले बताए ।
पुराणको उद्घाटनको प्रमुख अतिथि श्री १००८ प्रा.डा. पुरुषोत्तमाचार्य स्वामीज्यु रहने छन् भने मुलपाठ कथावाचन पंण्डित श्रीकुलशेखर खतिवडा र पंण्डित भण्डारीले गर्नेछन् ।
संस्थापक, साना गुरुजी एवम् जग्गादाता माधवप्रसाद भण्डारीले गुरुकुल स्थापनाका लागि साढे ३ कठ्ठा जग्गा दिएका थिए । मेचीनगर नगरपालिकाले वर्षेनी २ लाख ४१ हजार सहयोग गर्दै आएको छ ।
गुरुकुल क्षेत्रका ८०५ घरबाट वटुकहरुको भोजनका लागि प्रत्येक महिना मुष्ठी दान संकलन गरिदै आएको बताइएको छ ।
पुराणका लागि १०१ मुल आयोजक समिति र १५ वटा उपसमिति गठन गरिएको छ ।
Discussion about this post