मेचीनगर, २६ माघ । दुई वर्षअघि धुलाबारीमा धमाका मच्चाएको जोन एण्ड द लोकल्स व्याण्डले फेरि चारआली तताउने भएको छ ।
देश–विदेशमा दर्शकको अपार माया पाएको जोन एण्ड द लोकल्स व्याण्डले आगामी फागुन ९ गते चारआलीमा ‘चारआली म्युजिक फेस्ट–२०२५’ आयोजना गर्ने भएको हो ।
आज बज्र इभेन्टसले होटल मेची क्राउनमा पत्रकार सम्मेलन गरेर एकदिवसीय वृहत सांगीतिक कार्यक्रमको आयोजना गरिने जानकारी दिएको हो ।
उक्त सांगीतिक कार्यक्रम चारआली चोक एक किलोमिटर दक्षिण निचाझोडा सिमसार नजिक हातेमालो सामुदायिक वन उपभोक्ता समूहको मैदानमा हुने उनले बताए । दुई वर्षअघि जोन एण्ड द लोकल्स व्याण्डले धुलाबारीमा वृहत सांगीतिक कार्यक्रम गरेर धमाका मच्चाएको आयोजकको भनाई छ ।
नेपाल र भारतका करिव ५ हजार संगीत प्रेमीहरुको उपस्थितिमा धरानको जोन एण्ड द लोकल्स व्याण्डका चर्चित कलाकार जोन चाम्लिङले विशेष प्रस्तुति दिने आयोजक संस्था चारआली म्युजिक फेस्टका संयोजक फुर्वा लामाले बताए ।
उनका अनुसार लागूऔषधमा फसेका युवाहरुलाई सचेत गराउने, सामाजिक, सांगीतिक र पर्यटन विकासमा योगदान पुर्याउने उदेश्यले उक्त कार्यक्रम गर्न लागिएको आयोजकका आकाश तामाङले बताए ।
फ्रिडम फाउण्डेशन नेपाल मेचीनगर–६ का अध्यक्ष सन्दीप थापाले सांगीतिक कार्यक्रमबाट नाफा आएको रकममध्ये केहि रकम लागूऔषधमा फसेका युवाहरुका लागि सहयोग रहने आयोजक संस्थासँग सहमति भएको बताएका छन् ।
फागुन ९ गते राति ६ वजेदेखि ९ वजेसम्म हुने उक्त कार्यक्रमको टिकट तीन प्रकारको रहेको छ । जस्मा पछाडि बसेर हेरेको ५ सय,
आगाडि बसेर हेरेको १ हजार र भिआईपी टिकटको ३५ सय शुल्क रहने तामाङले बताए । ‘चारआली म्युजिक फेस्ट–२०२५’ आयोजना गर्न करिव १८ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
कार्यक्रम सफल पार्न सहयाेगीका रूपमा वेभरेज, हाेटल मेची क्राउन, साैर्य एयरलायन्स, खल्ती , सजिलाे इभेन्ट र लर्ड अफ द ड्रिङ्गस लड रहेका छन् ।
पत्रकार सम्मेलनको सहजिकरण आयोजक समितिका सदस्य विशाल तामाङले गरेका थिए । सम्मेलनमा आयोजक समितिका राजेन्द्र उप्रेती, मनिष गहतराज लगायतको उपस्थिति रहेको थियो ।




Discussion about this post