झापा, ३ फागुन । ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ सिजन–६ को फाइनल राउण्डमा प्रवेश गरेका दिनेश भारतीलाई भोट गरिदिन नेपाल दशनामी समाजले आग्रह गरेको छ ।
कोशी प्रदेशकै सवै भन्दा ठूलो गायन रियालिटी शो ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ सिजन–६ को टप ५ अर्थात फाइनल राउण्डमा पुगेका भारतीलाई भोट गरेर विजेता बनाउन समाजको केन्द्र, प्रदेश, जिल्ला र नगरले आग्रह गरेको हो ।
आज नेपाल दशनामी समाज बिर्तामोड नगरसमितिद्धारा अर्जुनधारास्थित सालवारी झीलमा आयोजित वनभोज कार्यक्रममा दिनेश दशनामीहरुका प्रतिभा भएकाले उनलाई विजेता बनाउन साथ, सहयोगसहित भोट गरिदिन आग्रह गरेका छन् ।
सोही अवसरमा गायक दिनेशलाई भोटिङ सहयोगका लागि समाजका केन्द्रीय सल्लाहकार तथा झापा कोषाध्यक्ष बालकृष्ण गिरी, झापा उपाध्यक्ष सन्तोष गिरी, सामाजिक ब्यक्तित्व राजु गिरी र कमल गिरीले जनही ५ हजार रुपैयाँको टिकट खरिद गरेका थिए । अन्य दशनामी बन्धुहरुले पनि टिकट खरिद गरिदिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष गोबिन्दबिक्रम गिरी, केन्द्रीय संरक्षक भरतलाल गिरी, कोशी प्रदेश पूर्व अध्यक्ष चन्द्रप्रसाद गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश) लगायतले देशभरका दशनामी बन्धुहरुले दिनेशलाई जिताउन आग्रह गरेका थिए ।
गायक दिनेशले गायन प्रस्तुत गर्दै उपस्थित सवैलाई नचाएका थिए । उनले गायन क्षेत्रमा योगदानको चर्चा गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
फाइनल राउण्ड अर्थात टप ५ मा पर्न सफल पाँचथरको याङवरक गाउँपालिका–६ का दिनेश भारतीलाई भोट गरिदिन भारती बन्धु एकता समाजले पनि आग्रह गर्दै आएको छ ।
गत भदौ महिनाको पहिलो हप्ताबाट शुरु भएको गायन रियालिटी शोमा कोशी प्रदेशका १४ सहित १७ जिल्लाका ५७० जना भन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।
प्रतिस्पर्धीहरुलाईपछि पार्दै भारती टप ४५०, ३००, २००, १५०, ७५ हुँदै टप ४० सँगै भोटिङ राउण्डमा प्रवेश गरेका थिए । हाल फाइनल राउण्डमा प्रवेश उनलाई भोटीङ गर्न चाहानेले यहाँ दिइएको क्यूआरलाई स्क्यान गरेर गर्न सकिनेछ ।
दिनेशले १५ बर्षअघिदेखि गायन क्षेत्रलाई निरन्तरता दिँदै आएको बताए । सिजन–६ को ग्राण्ड फिनाले फागुन महिनाभित्र धनकुटाको टुडिखेलमा हुने बताइएको छ । उक्त गायन रियालिटी शोमा विश्वभरका नेपाली वरिष्ठ गायक तथा संगीतकार, राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने आयोजकको भनाई छ ।
नेपाल दशनामी समाज बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष खेमराज गिरीले र सहजीकरण समाजका प्रेस सल्लाहकार उद्धव पुरीले गरेका थिए ।
Discussion about this post