मेचीनगर, ४ फागुन । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मेचीनगर समितिले चारआलीको घटनाप्रति घोर आपत्ति जनाएको छ ।
शनिबार मेचीनगर–१३ स्थित प्रगति सामुदायिक वनका अध्यक्ष दिपेन्द्र निरौला (विकास) लाई अतिक्रमण गरेर टहरा बनाई सब्जी बजार गरेर बसेका व्यापारीले अभद्र व्यवहार गरेकोप्रति सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मेचीनगर समितिले आपत्ति जनाएको हो ।
महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओलीले प्रगति सामुदायिक वनका अध्यक्ष निरौलालाई स्थानीय व्यापारी एक महिलाले कालोमोसो दलेकोले कानूनी प्रक्रियाबाट कडा भन्दा कडा कारवाही गर्न माग गरेकी छन् ।
वन डिभिजन कार्यालय झापाले हिजो चारआलीको प्रगति सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरेर टहरा बनाई सब्जी बजार गरेर बसेका व्यापारीहरुलाई डोजर लगाएर हटाएको थियो ।
टहराहरु हटाउने क्रममा प्रगति सामुदायिक वनका अध्यक्ष निरौलालाई स्थानीय व्यापारी अनिता तामाङले कालोमोसो दलेर नजिकैको शौचालयमा भागेर लुक्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकी तामाङलाई हदै सम्मको कारवाही गर्न माग गर्दै महासंघ मेचीनगरकी अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गरेर उक्त ध्यानाकर्षण गराएकी हुन् ।




Discussion about this post