भद्रपुर, ५ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले विश्वासनिय मिडिया रासस भएको बताएका छन् ।
आज राससको कार्यालय भद्रपुरमा ६४ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयमा पत्रकारबीचको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।
यही फागुन ७ गते राससको ६४ औँ वार्षिकोत्सवको अवसरमा देशभरी विभिन्न कार्यक्रम गरेर मनाईरहेको छ । प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले रासस कार्यालय परिसरमा सुपारीको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरेलले रासस बाहेक अरु कुनै पनि मिडियासँग विश्वास गर्ने ठाउँ नभएको बताएका छन् । उनले रासस बिना मिडिया नचल्ने दावी गरे । मिडियाहरु बचाएको नै राससले भएको उनको भनाई छ । अन्य मिडियाले पचास प्रतिशत समाचार रासस बुलेटिनबाट पढ्ने, छाप्ने र हेर्न गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपानेले समाचारमा विविधता रहेको बताए । उनले मोवाइल एप्स, अडियो भिडियोलाई सरलिकृत गर्दै एआईबाट पनि जानु पर्ने बताएका थिए ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमले धर्मराएको धर्मलाई राससले थामेको बताएकी छन् । प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारले साना लगानीमा सञ्चालित मिडियालाई सहजताका लागि राससले निःशुल्क समाचारको व्यवस्था गर्नु पर्ने माग राखेका थिए ।
फोनिज झापाका अध्यक्ष अर्जुन राजबंशीले सरकारी मिडिया राससले सरकारको गलत क्रियाकलापलाई पनि उजागर गर्नु पर्ने बताएका थिए । अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीले विश्वासनिय सञ्चारमाध्यामको रुपमा रासस रहेको बताए । उनले रासस र अन्य मिडियाहरु राजनीतिबाट मुक्त हुनु पर्नेमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटाले राससले अन्य मिडियालाई निःशुल्क समाचार दिन नहुने तर्क गरेका छन् । उनले त्यसरी मिडिया नचल्ने दावी गरे । अमेरिकाको युएसेड कार्यक्रम बन्द भएपछि मुलधारका मिडियाहरुमा संकट हुन थालेको उनको भनाई छ ।
अग्रज पत्रकार मोहन काजीले सरकारको पहिचान र तथ्य समाचारको रुपमा रासस रहेको दावी गरेका छन् । उनले राससको समाचार निःशुल्क वा न्युनतम गर्न समेत माग गरे । प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरले राससको समाचारको मुल्य घटाउन माग गरेका थिए ।
कार्यक्रममा पत्रकारहरु खगेन्द्र भण्डारी, देबेन्द्र ढुंगाना, रमा दाहाल, लेखनाथ परदेशी, अर्जुन कार्की, रेवतिराज घिमिरे लगायतले पनि आ–आफ्नो विचार राखेका थिए ।
कार्यक्रममा रासस बनियानी सम्वाददाता सन्तोष शर्मा र बिर्तामोड सम्वाददाता राजकुमार ओलीको उपस्थिति रहेको थियो ।
रासस कार्यालय झापाका प्रमुद दिपक चन्दले अध्यक्षतासहित स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उनले रासस नेपाली भाषामा २४ औँ घण्टा समाचार प्रदान गरिरहेको बताए । उनले अंग्रेजी तथा अन्य भाषामा पनि बुलेटिनमार्फत समाचार दिइरहेको बताए ।
उनका अनुसार राससले साप्ताहिक पत्रिकालाई मासिक २७ सय, अनलाइनलाई ५५ सय र ठुला ब्रोडसीट मिडियालाई एकलाखदेखि १२ लाख रुपैयाँसम्म बुलेटिन मार्फत समाचारको मासिक रकम लिइरहेको छ ।
अन्तरक्रिया कार्यक्रमको सहजिकरण राससकी पूर्व कार्यालय प्रमुख एवम् झापा सम्वाददाता अम्बिका भण्डारीले गरेकी थिइन् ।
Discussion about this post