मेचीनगर, ७ फागुन । कोशी प्रदेशका सांसद गोपाल तामाङले राज्यले प्रकाशित गर्ने विज्ञापनहरु प्रदेश र स्थानीय तहमा रहेका मिडियाहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने बताएका छन् ।
आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैटौं अधिवेशनको प्रमुख अतिथि रहेका सांसद तामाङले यस्तो कुरा बताएका हुन् ।
कोशी प्रदेशको नेपाली कांग्रेस संसदलिय दलका प्रमुख सचेतक समेत रहेका सांसद तामाङले खरिद ऐन आकर्षित भएपनि राज्यले प्रकाशित गर्ने सूचनाहरु पहिलो प्राथमिकताका रुपमा प्रदेश र स्थानीय तहमा सञ्चालन गरिरहेका मिडिया दिनु पर्ने दावी गरे ।
‘कोशी प्रदेशमा सञ्चार विधेयक संसदमा दर्ता भएको छ’, त्यसमा भएका केहि कुराहरु शंसोधन गरेर पास गर्ने तयारी छ । त्यसले नियमन, अनुगमन, छात्रवृति लगायत कार्यहरुले मिडियालाई राम्रो र अवसर पनि हुन्छ ।’
उनका अनुसार अहिलेसम्म संसदमा छलफलका लागि करिव ८० वटा ऐनहरु दर्ता भएको बताए । त्यसमा ५० वटा ऐन शंसोधनका लागि पेश भएका छन् । र, १६ वटा ऐन शंसोधनका लागि मैले नै पेश गरेको छु ।
पत्रकार, विद्यार्थी र शिक्षक राजनीतिकबाट अलग बसेर आफ्नो पेशालाई व्यवसायिक बनाउनु पर्ने उनको भनाई छ । उनले भने–‘प्रजातन्त्र स्थापना भएको ७४ वर्ष भयो । अब पनि पुरानै शैलीले देश चल्दैन । एक कालखण्डमा विद्यार्थी, पत्रकार र शिक्षकको अहम भूमिका थियो । तर, अब पेशा र समाजका लागि योगदान गर्नु पर्छ ।’
कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरका पत्रकारको संस्थालाई नगरपालिकाले गर्ने सहयोगमा कमी हुन नदिने बताए । जनताकै नगरपालिका भएकाले जनताको समस्या सम्बोधन गर्न पर्छ भन्ने ठानेको उनको भनाई छ ।
उनले विकास पत्रकारिताका विषयमा ठुलै कार्यक्रम आयोजना गर्न प्रेस क्लब मेचीनगरलाई अनुरोध समेत गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङ, नगरप्रमुख बुढाथोकी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, मेचीनगरका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक बराल, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, नेपाली कांग्रेस मेचीनगर उपसभापति योगेन थापा मगर, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लक्ष्मी उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनमा निर्वाचित प्रेस क्लबका सदस्य तथा पदाधिकारीहरुलाई समेत सम्मान गरिएको थियो ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले अध्यक्षतासहित अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको उद्घाटन सत्रको स्वागत उपाध्यक्ष जीआर धितालले र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।
Discussion about this post