मेचीनगर, २२ फागुन । जरा फाउण्डेशनले स्थापना गरेको सञ्चार विद्याको पुरस्कारबाट अग्रज पत्रकार चन्द्र भण्डारी पुरस्कृत भएका छन् ।
आज बलभद्र जनता मावि मेचीनगर–११ धाइजनको ६५ औँ बार्षिकोत्सवमा विद्यालयमा कृष्णप्रसाद प्रसाईले बुबा जय र आमा राधादेवी प्रसाई (जरा) को स्मृतिमा स्थापना गरेको फाउण्डेशनले सञ्चार विद्याको पुरस्कारबाट अग्रज पत्रकार भण्डारीलाई पुरस्कृत गरेको हो ।
सिलीगुडीका डा.भीखी प्रसाद सम्मानित
त्यस्तै साहित्यतर्फ भारत सिलीगुडीका डा.भीखी प्रसाद ‘वीरेन्द्र’लाई पुरस्कृत गरिएको छ । पत्रकार भण्डारी र डा.भीखीप्रसादलाई जनही नगद १५ हजारद्वारा सम्मानित गरिएको थियो ।
विद्यार्थी र शिक्षक पनि सम्मानित
यस्तै २ जना गरीव तथा जेहेन्दार पुरस्कारबाट कक्षा १२ का युनिक मेचे र प्रियांशा उप्रेतीलाई पनि जनही नगद ५ हजारसहित सम्मान गरिएको छ ।
फाउण्डेशनको नाममा स्थापना भएको चार वटा विद्याको पुरस्कार प्रत्येक वर्ष विद्यालयले वितरण गर्ने गरेको छ । यसैगरी विद्यालयमा स्थापना गरेका थुप्रै छात्रवृति र अक्षय कोषबाट शिक्षक तथा विद्यार्थी र दाताहरुलाई सम्मान गरिएको छ ।
शिक्षक होमराज ढकाललाई दुर्गादेवी सिटौला स्मृति कोषले सम्मान गरेको थियो । ढकाल नेपाल शिक्षक महासंघ मेचीनगरका अध्यक्ष समेत हुन् ।
पुन्यप्रसाद प्रसाई स्मृति कोषका संरक्षक बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मदन भण्डारी फाउण्डेशन कोषका संरक्षक पूर्व सांसद हरिचरण शिवाकोटी लगायतले विद्यार्थिहरुलाई छात्रवृति वितरण गरेको थियो ।
विद्यालयद्वारा सञ्चालित १५ वटा छात्रवृति कोषबाट हरेक वर्ष ६९ जना विद्यार्थीहरुलाई पुरस्कृत गर्ने गरिएको छ ।
शैक्षिकस्तर सुधार्न शिक्षकहरु मनैदेखि लाग्नु पर्यो : नगरप्रमुख
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले विद्यालयको शैक्षिकस्तर सुधार्न गर्न शिक्षकहरु मनैदेखि एकता भएर लागे त्यो सम्भव रहेको बताए ।
‘जनताको घर–घरमा सिङ्गदरवार आयो भन्ने कुराले जनप्रतिनिधिले गाली मात्र खाएका छन्’, बुढाथोकीले भने–‘शिक्षा लगायतका कानुनहरु संघिय सरकारमा निहित रहेकोले स्थानीय तहमा जनप्रतिनिधिहरुलाई काम गर्न गारो छ ।’
आफ्नो भाषा नभुलौँ : पत्रकार भण्डारी
कार्यक्रममा सम्मानित श्रष्टा पत्रकार महासंघका संस्थापक महासचिव भण्डारीले नेपाली पाठ्यपुस्तक, नेपाली भाषा, साहित्य, संस्कृति, खानपिन लगायतका मौलिक परम्परालाई विर्सेर विदेशी संस्कार नभित्राउन सबैलाई आग्रह गरेका थिए ।
नेपाल कसैको गुलाम हुनु परेको छैन : डा.भीखी प्रसाद
कार्यक्रममा सिलीगुडीका डा.भीखी प्रसादले नेपाल अहिलेसम्म कसैको गुलाम बनेर नबसेको देश भएको बताए । उनका अनुसार नेपाल अहिलेसम्म पराधिन नभएर स्वाधिनतासँगले बसेको छ । नेपाल र भारतको सम्बनध कहिलै नटुट्ने उनको भनाई छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा कक्षा २ की छात्रा एलिशा संग्रौलाले सम्पूर्णलाई स्वागत गरेकी थिइन् । विद्यार्थिहरुले विभिन्न जातिय भाषामा नित्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मेचीनगर–११ का वडाध्यक्ष रुद्र डाँगी, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण बानियाँ, नेपाल शिक्षक महासंघ कोशी प्रदेशका अध्यक्ष तेजु चौलागाई लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
बलभद्र जनता माविका व्यवस्थापन समिति अध्यक्ष शान्तिराम चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागतसहित विद्यालयको बार्षिक प्रतिवेदन प्रधानाध्यापक तुलसीप्रसाद सुवेदीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक टिकेन्द्र खनालले गरेका थिए ।
Discussion about this post