बिर्तामोड, २० बैशाख । भद्रपुरमा मेची पुल निर्माणका लागि नागरिकबाट संकलन गरिएको चन्दा रकम तत्कालीन युवराजधिराज विरेन्द्र शाहालाई दिने पञ्चायती शासकहरुको निर्णयविरुद्ध संघर्षमा उत्रिदा जेल परेका झापाका राजनीतिक योद्धाद्वयलाई नागरिक सम्मान गरिएको छ ।
आज पूर्ण–टुंग आदर्श नागरिक सम्मानबाट झापाका प्रजातान्त्रिक आन्दोलनका दुई जना राजनीतिक योद्धाद्वय याम भण्डारी र दिव्यरत्न भुर्तेल सम्मानित भएका हुन् ।
आदर्श नागरिक सम्मान–२०८१ बाट मेचीनगर–९ स्थित धुलाबारी निवासी दम्पति याम र सन्ध्या भण्डारी तथा भद्रपुर–७ निवासी दिव्यरत्न र सुभद्रा भुर्तेल सम्मानित भएका छन् ।
मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको २५ लाख रुपैयाँ तत्कालीन युवराजधिराज विरेन्द्रलाई प्रदान गरेको विरोधमा आवाज उठाउँदा जेल परेका उनीहरुलाई नागरिक सम्मान प्रदान गरिएको हो । विरोध जनाउँदा उनीहरुलाई पटक पटक गरी ७ वर्ष चरम यातनासहित जेल चलान गरिएको थियो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्य रहेका थिए । उनीहरुलाई जनही ५५ हजार नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि आचार्य सम्मानित व्यक्तित्वहरु भण्डारी, भूर्तेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, संविधान सभा सदस्य सुधिर शिवाकोटी लगायतको आतिथ्य रहेको थियो ।
यसअघि प्रतिष्ठानले विगत तीन दशकदेखि समाज परिर्वतनमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरुलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ । गतवर्ष आदर्श नागरिक सम्मानद्वारा नेपाली हास्य जगतका उत्कृष्ट साधक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई संयुक्त रुपमा सम्मान गरिएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष राजकुमार पोखरेलले संस्थाको परिचयसहित स्वागत र सम्मानित ब्यक्तित्व परिचय प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले बाचन गरेका थिए ।
जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानका अध्यक्ष गोपालकुमार वस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागतसहित प्रतिष्ठानको परिचय उपाध्यक्ष राजकुमार पोखरेलले र सम्मानित ब्यक्तित्वको परिचय प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले बाचन गरेका थिए । कार्यक्रमको सहजीकरण पूर्ण–टुंग स्मृति प्रतिष्ठानले गरेको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सहसचिव स्वस्तिका आचार्य गरेकी थिइन् ।




Discussion about this post