

झापा, ११ माघ । लोकतन्त्र पोष्ट दैनिकको ‘पौरखी जेनजी’ म्यागजिन सार्वजनिक गरिएको छ ।
काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित पत्रिकाले जेनजी पुस्तालाई समेटेर तयार पारेको म्यागजिन आइतबार बिर्तामोडमा लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् छनौट समितिका संयोजक महेन्द्रकुमार गिरीले झापाका १५ जना पौरखी जेनजीहरुको नाम घोषणा गरेका थिए ।
आफ्नै क्षेत्र, आफ्नै देशमा गरिखाने हिरोहरुलाई पौरखी जेनजी युवाका रुपमा सम्मान गरिएको थियो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका गिरीले छनौट समितिले १५४ जना पौरखी युवाहरु मध्येबाट १५ जनालाई छनौट गरेर सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा डा.चेतनराज कार्की, मनिषा राजवंशी, स्वेता बुढाथोकी, कृपेश कार्की, कृपा चापागाई, गायिका रचना रिमाल, सविन बाँस्कोटा, गायक अशोक दर्जी, कृपा ढकाल, हरिकृष्ण भण्डारी, जयराम दाहाल, अनन्त तामाङ, तनुजा पाण्डे, अंकित सुवेदी तथा राहुल÷तेज÷उत्सवको समूह रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि महेन्द्र गिरी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, सम्मानित व्यत्तित्वको स्वेता वुढाथोकी, डा.कार्की, पत्रिकाका कार्यकारी सम्पादक दामोदर ढुंगेल लगायतले विचार व्यक्त गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश लोकतन्त्र पोष्टका प्रधान सम्पादक मोहन काजीले पारेका थिए । लोकतन्त्र पोष्टका सम्पादक अम्विका भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार केशव भट्टराईले गरेका थिए ।




Discussion about this post