भद्रपुर, ११ वैशाख । त्रिभुवन आर्मी फुटबल क्लब भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
फाइनल प्रवेशसँगै आर्मीले ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ ।
आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस फुटबल क्लबलाई २-१ गोल अन्तरले हराएको छ ।
आर्मीले शनिबार हुने चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३२ औँ मिनेटमा आर्मीले अग्रता लियो । पुलिसकी डिफेन्डर समीक्षा घिमिरेको गल्तीको फाइदा उठाउँदै आर्मीकी चन्द्रा भण्डारीले गोल गर्दै खेलमा अग्रता दिलाइन् ।
५६ औँ मिनेटमा जेनिफर राना मगरले आर्मीको अग्रता दोब्बर बनाइन् । हिमा चौधरीले गरेको कडा प्रहार पुलिसकी गोलकिपर सपना राईको हातबाट फुत्किँदा रानाले पाएको बललाई पोस्टको दिशा दिइन् ।
पुलिसले खेलको ७० औँ मिनेटमा एक गोल फर्कायो । पूजा रानाले डिबक्समा हेडमार्फत मिलाइदिएको पासलाई रेखा पौडेलले हेडमार्फत नै जाली चुमाउँदै गोल अन्तर कम गर्ने प्रयास गरिन् ।
आर्मीकी डिफेन्डर विमला विक, सुनिता चौधरी र अनिता लम्जेलसामु पुलिसका स्ट्राइकर चल्न नसक्दा गत वर्ष कात्तिकमा झापाको शिवसताक्षीमा सम्पन्न झापा महिला गोल्डकपको सेमिफाइनलमा व्यहोरेको हारको बदला आर्मीले झापामै लिएको छ ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीकी डिफेन्डर विमला विक भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।




Discussion about this post