भद्रपुर, १० वैशाख । सडन डेथमा संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ एफसी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । निर्धारित समयमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा पनि ३-३ गोलको बराबरी भएपछि भएको सडन डेथमा एपिएफ भाग्यमानी सावित हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
आजको खेलमा सडन डेथमा पनि ३-३ जना खेलाडीले गोल प्रहार गरेका थिए । जसमा संकटाका प्रतिक्षा राईको गोल बाहिरिएपछि संकटा घर फर्किएको हो । सडन डेथमा एपिएफका सरु सुब्बा, हिराकुमारी भुजेल र अञ्जना राना मगरले गोल गरेका थिए ।
संकटाका तर्फबाट सुशीलाकुमारी चौधरी र झुमा विश्वकर्माले गोल गरेका थिए । यसअघि भएको टाइब्रेकरमा एपिएपका गीता राना, अनिता बस्नेत र रश्मिकुमारी घिसिङले गोल गरेका थिए भने अनिता केसी र रेनुका नगरकोटीको प्रहारलाई संकटाका गोलकिपर सुशीलाकुमारी चौधरीले बचाउ गरेकी थिइन् ।
टाइब्रेकरमा संकटाका तर्फबार यशोदा शाही, सुक्रिया मिया र विदेशी खेलाडी सुसिया लिलाले गोल गरेका थिए भने पूर्णिमा राईको प्रहार बचाउ भएको थियो तथा सुनिता भुलनको प्रहार बाहिरिएको थियो ।
निर्धारित ९० मिनेटमा संकटाले बनाएको थुप्रै मुभहरु खेर गए । एपिएफमाथि निरन्तर दबाब दिए पनि संकटाले गोल गर्ने अवसर गुमाएको थियो ।
खेलको ३१ औँ मिनेटमा संकटाका लागि विदेशी खेलाडी लुसिया लिला जोसेले गरेको प्रहार एपिएफका गोलकिपर अञ्जना राना मगरले पञ्च गरेर फर्काइन् ।
गोलकिपर राना बिट भइसकेपछि गरेको उनको रिबाउन्स प्रहारलाई प्रतिक्षा चौधरीले गोल लाइनबाट बचाइन् ।
खेलको ३३ औँ मिनेटमा संकटाका विदेशी खेलाडी डोरा बोआफेमाले गरेको पावरफुल सट क्रस बारमा लागेर फर्कियो ।
पहिलो हाफको अतिरिक्त समयमा पूर्णिमा राईको प्रहार एपिएफका गोलकिपर रानाले पञ्च गरेर बचाइन् । एपिएफले संकटाविरुद्ध खासै डेञ्जर मुभ बनाउन सकेन ।
पहिलो हाफको १३ औँ मिनेटमा मनमाया दमाईको पासमा रश्मिकुमारी घिसिङले गरेको प्रहार संकटाका गोल सुशीलाकुमारी चौधरीले पञ्च गरेर बचाइन् ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी गीता राना भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।
शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।




Discussion about this post