भद्रपुर, ९ जेठ । झापा जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।
पाँचथरको साविक नागी गाविस-९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको शनिबार विहान बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई जेठ ७ गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि सोही रात ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।
अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेका बेला स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई बिर्तामोड स्थित बीएण्डसी अस्पताल रिफर गरिएको थियो ।
उपचारकै क्रममा आज विहान ३:४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
जिल्ला अदालत झापाको फैसला अनुसार घिमिरेले ८ वर्ष ८ महिना एक दिन कैद सजाय भुक्तान गरिसकेका थिए ।




Discussion about this post