काँकरभिट्टा, २८ साउन । कोरोनामुक्त साइकल यात्री तेजविक्रम शाहले मेची महाकाली साइकल यात्रा ११ दिनमा पुरा गरेका छन् ।
आज पूर्वी नाका काँकरभिट्टा आईपुगेका साइकल यात्री शाहलाई यहाँका साइक्लिष्ट, स्थानीयबासी, जनप्रतिनिधि र राजनीतिक दलका अगुवाहरुले भव्य स्वागत गरेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बाँकेका ५६ बर्षीय शाहले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकाकाबाट साउन १८ गते साइकल यात्रा प्रारम्भ गरेका थिए । शाहले ११ दिनपछि काँकरभिट्टा आईपुगेका हुन् ।
कोरोनामुक्त शाहले संक्रमणबाट दिवंगत भएकाहरुको आत्मशान्तिको कामना गर्दै आफुले मेची महाकाली साइकल यात्रामा निस्किएको बताएका थिए । तीन महिनाअघि संक्रमणमुक्त भएका शाहले संक्रमितलाई हेर्ने नजरमा परिवर्तन ल्याउँन उनीहरुको आत्मबल बढाउन आँफुले यात्रा गरेको दावी गरे ।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, राप्रपा मेचीनगरकी अध्यक्ष सबिना बजगाईं, युवा संघका नेता बालकृष्ण थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन साइक्लिष्ट अर्जुन सुब्बाले गरेका थिए ।
फोटो : देवेन्द्र खरेल
Discussion about this post