बिर्तामोड, ३० कात्तिक । बिर्तामोड खानेपानी तथा सरसफाई संस्थाले ‘ट्याङ्की सफा गरेको फोहोर पानी’को उचित व्यवस्थापन नगरेको कारण स्थानीय आक्रोशित भएका छन् ।
संस्थाले नियमित रुपमा ट्याङ्कीको सरसफाइ गरेको फोहोर पानी अर्जुनधारा नगरपालिका वडा नं. ६ महानन्द चोक पश्चिम, बिहानी टोलस्थित लक्ष्मी गौतम र प्रकाश बस्नेतको घर अगाडिको खाली जमिनमा फालिदिने गर्दै आइरहेको छ ।
संस्थाले नियमित रुपमा फोहोर पानी फ्याक्ने र त्यसको उचित व्यवस्थापन गर्न कुनै चासो नदेखाएका कारण स्थानीयले समस्या व्यहोर्दै आइरहेका छन् । फोहोर पानीको कारण करेसा खेती गर्न समेत गाह्रो भएको स्थानीयहरुले गुनासो गरेका छन् ।
स्थानीयहरुले घर अगाडिको जमिनमा जमेको फोहोर पानीबाट लामखुट्टे बढेर मलेरिया लगायतका रोग फैलिने त्रास भएको बताए ।
२०७७ साल मङ्सिरमा स्थानीयले उक्त कार्यको बिरोध गरेपछि संस्था र स्थानीयबासीबीच फोहोर पानी व्यवस्थापनका लागि मौखिक सम्झौता भएको थियो ।
सम्झौतामा तत्काल फोहोर पानीको व्यवस्थापन गर्न पाइपको प्रयोग गरेर अदुवा खोलामा मिसाउने सहमति भएको थियो । तर हालसम्म सम्झौता बमोजिम कार्य नभएकोमा स्थानीय असन्तुष्ट छन् ।
स्थानीयसँग सम्झौता गर्न संस्थाका अध्यक्ष जलकुमार गुरुङ र पूर्व अध्यक्ष पर्शुराम सिटौला गएका थिए ।
Discussion about this post