बिर्तामोड, ३० कात्तिक । आँखा उपचारमा अग्रणी मेची आँखा अस्पतालले विगत २५ वर्षमा ३० लाखको उपचार र साढे ३ लाख जनाको शल्यक्रिया गरेको जनाएको छ ।
स्थापनाको २५ औं बर्षगाँठ मनाउने क्रममा अस्पतालले उक्त जानकारी दिएको हो ।
२०५३ सालमा बिर्तामोडका केही लायन्सकर्मीको पहल र नेतृत्वमा मेची आँखा अस्पतालको स्थापना भएको थियो ।
अस्पतालका अनुसार २५ बर्षमा मेची आँखा अस्पतालले ओपीडीमार्फत ३० लाख ३७ हजार ६ सय २९ जनाको उपचार गरेको छ ।
अस्पतालले सोही अवधिमा ३ लाख ४३ हजार ४ सय ७२ जनाको आँखा शल्यक्रिया गरेको छ ।
२०० बेड भएको अस्पतालमा अहिले १४ जना डाक्सरसहित २ सय १५ जना कर्मचारी कार्यरत छन् ।
अस्पतालको सेवा उत्कृष्ट भएकै कारण छिमेकी मुलुक भारतको पश्चिम बंगाल, असाम, मणिपुर, बिहारलगायतका राज्यबाट दैनिक सयौंको संख्यामा विरामीहरु उपचारका लागि आउने गरेको अस्प्तालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.पुरुषोत्तम जोशीले बताए ।
अस्पतालले सोमबार प्रभातफेरी तथा शुभकामना आदानप्रदान गरी रजत जयन्ती मनाएको हो ।
आँखा शिविरदेखि अस्पतालसम्म २०५३ अर्थात सन् १९९६ नोभेम्बर १ देखि १५ तारिखसम्म बिर्तामोडका केही लायन्सकर्मीको पहलमा कृषिथोक बजारमा १५ दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा सयौं विरामीले आँखाको परीक्षण गराउनुका साथै ४४२ जनाको निःशुल्क शल्यक्रिया गरेको मेची आँखा अस्पताल संघका अध्यक्ष दिनेश कुमार मित्तलले उसबेलाको स्मरण गर्दै बताए ।
‘हाम्रो त्यो पहिलो आँखा शिविरमा आँखाका विरामीहरुको चाप देखेर हामी छक्क प¥यौं । स्थानीयबासी आँखाको गम्भीर रोग बोकेर बस्न बाध्य भएको देखेर हामीले शिविर सकिएलगत्तै सन् १९९६ नोभेम्बर १५ तारिखदेखि नै सञ्चालन हुनेगरी मेची आँखा अस्पताल सुरु गरेका हौं’ अध्यक्ष मित्तलले भने ।
करिब १२ बर्ष साविक चारपाने १ मा घर भाडामा लिएर अस्पताल सञ्चालन गरेको अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले जानकारी दिए ।
झापामा आँखा रोगीको बढ्दो संख्या र अस्पतालमा उपचार गराउन पूर्वी नेपालसहित ठूलो संख्यामा भारतीय विरामीहरु समेत आउन थालेपछि आई केयर फाउण्डेशन नेदरल्याण्डले मेची आँखा अस्पताललाई ठूलो सहयोग गरेको थियो ।
२०५७ सालमा फाउण्डेशनले बिर्तामोड–३ सैनिकमोडमा ३ बिघा १७ कट्ठा ६ धुर जमिन खरिद गरी सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरिदिएको हो ।
भवनसँगै अत्याधुनिक प्रविधिका उपकरणहरु समेत सहयोग तथा खरिद गरी जडान गरेर मेची आँखा अस्पतालले आँखाका विरामीहरुको सफल उपचार गर्दै आएको छ ।
कोभिड–१९ को जोखिम कायमै रहेकाले रजत जयन्ती खुल्ला मन्चमा भव्य कार्यक्रम गरी मनाउन नपाएको प्रशासन प्रमुख रौनियारले बताए ।
सोमबार अस्पतालका डाक्टर, पारामेडिकल तथा प्रशासनिक कर्मचारीहरुले र्याली निकाली बिर्तामोड चोक परिक्रममा गरेका थिए । त्यसपछि अस्पतालको सभाहलमा शुभकामना आदानप्रदान गरी आन्तरिक रुपमा रजत जयन्ती मनाएको रौनियारले बताए ।
Discussion about this post