मेचीनगर, १० मंसिर । चौथो हिमालय सुन्तला पर्यटन महोत्सवको तयारी पुरा भएको छ ।
आगामी मंसिर २४ देखि २६ गते सम्म कोलकातामा हुन लागेको चौथो हिमालय सुन्तला पर्यटन महोत्सवको तयारी पुरा भएको हो ।
एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमले हालै काँकरभिट्टामा आयोजना गरेको पत्रकार सम्मेलनमा सुन्तला महोत्सवको तयारीका बारेमा जानकारी गराएको थियो ।
ग्रमीण पर्यटन प्रवर्धन, अन्तरसीमा पर्यटन विकास, वन्यजन्तु संरक्षण र कृषि उतपादन तथा बजारीकरण लगायतका बारेमा जानकारी गराउन तथा नेपाली कला संस्कृति प्रस्तुत गरेर विदेशीलाई नेपालतर्फ आर्कषण गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमका महासचिव अर्जुनकुमार कार्कीले जानकारी दिए ।
पश्चिम बंगालको राजधानी कोलकाताको सल्टलेक सिटिसेन्टरमा हुने महोत्सवमा नेपालका विभिन्न ८ वटा स्टल रहने, ३० वटा जति विभिन्न प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवमा १ नम्बर प्रदेशबाट १ सय ८० जना सहभागी हुने र लुम्बिनी र बागमती प्रदेशबाट समेत गरी नेपालबाट २ सय २० जनाले सहभागीता जनाउने भएका छन्
महोत्सवमा प्रदेश नम्बर १ कोे ग्रामीण पर्यटन, यसक्षेत्रमा रहेका वन्यजन्तु संरक्षण, अन्तर सीमा पर्यटन विकास, नेपाली कला संस्कृति, ग्रामीण कृषि उत्पादन, नेपाली लोक भाका, सन्देशमुलक नाटक, लोकनृत्य, संगिनी, बालान लगायतका प्रस्तुती रहने महासचिव कार्कीले बताए ।
नेपाली स्टलमा नेपाली उत्पादन सुन्तला, एबोकाडो, किवी, अकबरे खुर्सानी, अल्लोको उतपादन, चुरा, पोते, आर्ट र पर्यटकीय स्थलहरुको नक्सा, होमस्टे, होटल, ट्राभलका प्रचारात्मक पर्चा पम्प्लेट समेत राखिने वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
हिमालय क्षेत्रका नेपाल, भारत र भूटानमा फल्ने सुन्तला ग्रामीण क्षेत्रमा उत्पादन हुने अग्र्यानिक जडिबुटी, फलफुल र हस्तकलाका सामग्रीको महोत्सवमा प्रचारप्रसार गरिदै आइरहेको उनको भनाइ छ ।
कोरोना महामारीले विश्वव्यापी रुपमा पर्यटन व्यवसायलाई धराशायी बनाएको बेला आयोजना हुन लागेको यो सुन्तला महोत्सवले नेपाली पर्यटनलाई पुनःजागृत बनाउन वा पुरानै लयमा फर्काउन सक्ने, पर्यटनलाई प्रवर्धन गर्ने, होमस्टे र आन्तरिक पर्यटनको प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास आयोजकको छ ।
कोलाकाता स्थित नेपाली महावाणिज्य दूतावासले समेत सुरुदेखि नै चासो देखाउदैँ आएको महासचिव कार्कीको दावी छ ।
नेपाल, भारत, भुटान, बंगलादेश, म्यानमार लगायतका मुलुकका वाणिज्यदुत लगायत महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिती रहने महोत्सवको करिव १० लाख पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ ।
नेपाल र भारतबीचका पत्रकारहरुमा विभिन्न विषयमा अन्तरक्रिया हुनेछ । मानव वेचविखन, लागुऔषध नियन्त्रण लगायतका विषयमा समेत छलफल हुने उनले बताए ।
Discussion about this post