अर्जुनधारा, १३ मंसिर । खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा कक्षा १० मा अध्ययनरत अर्जुनधारा–११ स्थित बुट्टाबारीकी १७ वर्षीया समीक्षा योगीलाई ब्रेनट्युमर भएपछि आमा निर्मला योगी भक्कानिदै छोरीलाई बचाइदिन अपिल गरेकी छन् ।
समीक्षाका बुबा शंकर योगी सामान्य ज्याला मजदुरी गर्छन् । उनको दुई छोरी र एक छोरासहित पाँच जनाको परिवार छ । आफू सुकुम्बासी भएको र बिक्री गर्ने केही सम्पत्ति नहुँदा छिमेकी र आफन्तहरुको सहयोगमा छोरीको सामान्यमा उपचार मात्रै गराउँदै आएको उनको भनाइ छ ।
अस्पतालले अपरेसन गर्न करिव १५ लाख खर्च लाग्ने बताएपछि हाल योगी परिवारमा चिन्ता परेको छ । अहिले रोकथामका लागि दमकको एउटा आयुर्वेद पसलबाट औषधि खादै गरेको निर्मलाले बताइन् ।
समीक्षाले प्राथमिक शिक्षा स्थानीय जुनकीरी प्राविमा र हाल सरस्वती मावि बुट्टाबारीमा अध्यनरत छिन् । बाच्ने र स्कुल पढ्ने इच्छालाई कसरी साकार पार्ने भन्दै परिवारमा चिन्ता थपिएको छ । उनको हाल औषधि खान मात्र मासिक २० हजार खर्च हुने गरेको निर्मलाले बताइन् ।
योगी परिवारलाई अर्जुनधारा नगरपालिकाले ३५ हजार सहयोग गरेको छ । यसरी नै अन्य संघ–संस्था, सामाजिक ब्याक्तित्व तथा मन भएकाहरुले सहयोग गरी छोरीको ज्यान बचाइदिन आमा निर्मलाले सबैलाई अनुरोध गरेकी छन् ।
उनले आफ्नो नाममा रहेको एक्सेल डेभलपमेन्ट बैंक बिर्तामोडको खाता न. ००१०१२००१६०९८९००००१ मा सहयोग गरिदिन शुभेच्छुकहरुलाई अनुरोध गरेकी छन् । साथै सम्पर्कका लागि मोवाइल नं.९८०४९५४९६४ र ९८४२७९६४१८ रहेको छ ।
Discussion about this post