काँकरभिट्टा, १४ मंसिर । देही आर्ट ग्यालरी मेचीनगरले कन्याममा तीन दिनसम्म चित्रकला प्रदर्शनी गर्ने भएको छ ।
कन्यामको श्री कृष्ण श्रम माविको खेल मैदानमा यहि मंसिर १६, १७ र १८ गते गतेसम्म देही आर्ट ग्यालरीले कन्याममा चित्रकला प्रदर्शनी गर्ने भएको हो ।
द इम्प्रेसन्स–७ महापरिनिर्वाण शीर्षकको प्रदर्शनीमा ग्यालरीका कलाकारहरुले भगवान बुद्घको २० बाई ६ फुटको क्यानभाष तथा बिभिन्न २० वटा अन्य चित्रहरु पनि प्रदर्शन गरिने जनाएको छ ।
प्रदर्शनीमा ५ हजार भन्दाबढी दर्शकहरुले चित्रहरु अवलोकन गर्ने अनुमान गरिएको देही आर्ट ग्यालरीका सञ्चालक छितेन शेर्पाले जानकारी दिए ।
प्रदर्शनीमा प्रदेश नम्बर एकका १५ जना भन्दाबढी कलाकारहरुले प्रत्यक्ष चित्र बनाउने सञ्चालक शेर्पाको भनाइ छ । चित्रकलाको माध्यमबाट पर्यटन प्रवर्धनमा टेवा पुग्ने उद्देश्यले कन्याममा ३ दिन चित्रकला प्रदर्शनी गरिने भएको उनले बताए ।
उद्घाटन सत्रको साँझ ‘संग्स अफ फिलोसफी’ नामक अनप्लग्ड सांगीतिक कार्यक्रम हुने आज पत्रकार सम्मेलनमा शेर्पाले बताए । दोस्रो दिन स्थानीय विद्यालयका विद्यार्थीहरुलाई चित्रकला सम्बन्धी कार्यशाला तथा अन्तरक्रिया र तेस्रो दिन बिभिन्न कार्यशालासहित कार्यक्रम सम्पन्न हुने उनले बताए ।
प्रदर्शनीको पहिलो दिन सुर्योदय नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधि, भारतका पर्यटन प्रबर्धनका अभियन्ता राज वसु, झापाका सञ्चारकर्मीसहित स्थानीय समाजसेवीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा राखिने क्यानभाषका चित्रहरु देही आर्टका कलाकारहरु छितेन शेर्पा, तुलसी श्रेष्ठ, विष्णु लिम्बु, विनोद राजवंशी, सविन सुनुवार, रोषन सुब्बा, रिता राई, मौलिक लिम्बू, सुशील राई, अभिषेक प्रधान लगायतले निर्माण गरेको बताइएको छ ।
Discussion about this post