विराटनगर, १८ मंसिर । विहान ८ बजे सुरु हुने भनिएको नेपाली काङ्ग्रेस प्रदेश १ को मतदान प्राविधिक गडबडीका कारण अझै सुरु हुन सकेको छैन ।
शुक्रवार उम्मेद्वारको मनोनयन दर्ता भएको थियो । निर्वाचन तालिका अनुसार आज विहान ८ बजेदेखि मतदान हुनुपर्ने थियो ।
तर, प्रदेश समिति सदस्यको उम्मेदवारी दिएका श्याम खड्की, शान्तिकला तामाङ राई र जीवन नेपालीको नाम मतपत्रमै नभेटिएपछि मतदान रोकिएको हो ।
मतदान सुरु हुनु अघि उम्मेद्वारहरुकै नाम मतपत्रमा नभएको पत्तो लागेको थियो । निर्वाचन समितिले तत्काल मतदान प्रक्रिया रोकेको थियो ।
अहिले १२ बजेसम्ममा नयाँ मतपत्र छापेर ल्याइसक्ने भनिए पनि अझैसम्म मतदानस्थलमा मतपत्र आइपुगेको छैन ।
मतदान सुरु गर्न छलफल भइरहेको निर्वाचन समितिले जनाएको छ । जीवन दलित कोटा, खड्की भूगोल खुला र शान्तिकला महिला खुलाबाट उम्मेदवार थिए । छपाईको त्रुटीका कारण समस्या उत्पन्न भएको बताइएको छ ।
पदाधिकारीमा २१ जना भिड्दै
जारी प्रदेश १ को अधिवेशनमा प्रदेश पदाधिकारीमा २१ जना बीच प्रतिस्पर्धा भइरहेको छ । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र चार सहमहामन्त्री पदका लागि २१ जनाको उम्मेदवारी परेको छ ।
सभापतिमा झापाका उद्धव थापा र मोरङका गुरुराज घिमिरे भिड्दै छन् । थापा पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूह र घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल तथा डा. शेखर कोइराला पक्षबाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।
उपसभापतिमा गोविन्द ढुङ्गाना (केदार), टंक राई, रमेशजंग रायमाझी र विश्वनाथ रिजालले प्रतिस्पर्धा गर्दै छन् । महामन्त्रीमा उमेश थापा, दीपेन श्रेष्ठ, पद्मसुन्दर पालुङ्वा र भूपेन्द्र राईको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा महिलातर्फ अञ्जना ताम्ली, इन्दिरा थापा, प्रमिला गच्छदार र सीता कार्कीले प्रतिस्पर्धा गर्दै छन् ।
Discussion about this post