झापा, ८ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सबै पदको मतगणना सम्पन्न भएको छ ।
पार्टीको महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको मतदानको आज सबै पदको मतगणना सम्पन्न भएको हो ।
कांग्रेस निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सबै पदको मतगणना सम्पन्न भएकाले आजै रातिसम्म सबै पदको नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।
कांग्रेसले यसअघि पदाधिकारी, खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्य, प्रदेश पुरुष तथा महिला केन्द्रीय सदस्य, दलित महिला तथा पुरुष केन्द्रीय सदस्य, मुस्लिम, थारु, मधेसी लगायत क्लस्टर अनुसारको मतगणना सम्पन्न गरिसकेको छ ।
बाँकी रहेका आदिवासी जनजाति केन्द्रीय सदस्य, खस आर्य केन्द्रीय सदस्य महिला तथा पुरुषको पनि गणना सकिएकोले आजै रातिसम्म सबै सूची सार्वजनिक गरिने संयोजक घिमिरेले बताए ।
निर्वाचित उम्मेद्वारलाई शुक्रबार प्रमाणपत्र वितरण गर्ने कार्यक्रमसमेत रहेको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसले १४औँ महाधिवेशनमा १३४ कार्यसमितिका लागि निर्वाचन गरेको थियो । निर्वाचनमा ४८७ उम्मेद्वार चुनावी प्रतिस्पर्धामा थिए ।
महाधिवेशनबाट वर्तमान सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए ।
Discussion about this post