।। अर्जुन कार्की ।।
मेचीनगर, १७ पुस । पचास वर्षअघि स्थापना भएको धुलाबारीको तृष्णा हल अहिले बन्द छ । तर, त्यसको इतिहास भने रोचक छ । कुनै बेला त्यही हलमा नाइट सिनेमा हेर्न गाउँवस्तीका दर्शक राँको र पुल्ठो बालेर आउने गर्थे ।
यो हल २०२८ सालमा स्थापना भएको थियो । सो हल धुलाबारीका समाजसेवी चन्द्रकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । पछि उनका छोरा मुकुलले हलको चलाउने जिम्मेवारी लिएका थिए ।
सञ्चालक चन्द्रकुमारले त्यसबेला राति सिनेमा हेर्न गाउँ, वस्तीबाट राँको र पुल्ठो बालेर मानिस आउने गरेको सुनाए । सिनेमा सकेपछि फेरि राँको, पुल्ठो बालेर घरतिर लाग्थे । त्यतिखेर अहिलेको जस्तो बाटो, बिजुली, पुलको सुविधा थिएन ।
भारतको पानीट्याङ्की, नक्सलबाडी, बतासी, दार्जीलिङ र सिक्किमबाट पनि सिनेमा हेर्न मानिसहरु बास बस्ने गरी धुलाबारी आउने गरेको उनले सम्झिए ।
‘पहिला पहिला हिन्दी र नेपाली फिलिम धेरै चल्थ्यो,’ सञ्चालक मुकुलले भने–‘दिनमा तीन शो पनि भरिभराउ चलाएका थियौँ । एउटै फिलिम ५१ दिनसम्म चल्थ्यो ।’
डिजिटल प्रविधिको जमाना आएपछि पुरानो हलमा दर्शक कम हुँदै गएको श्रेष्ठको भनाई छ । उनले पछिपछि सिलीगुडी र इटहरीबाट ल्याएका हिन्दी र नेपाली चलचित्रका रिलहरु चुडिएर राम्रोसँग फिलिम देखाउन नपाइएकोे अवस्था पनि भोगेको सुनाए ।
‘२०७० सालमा हलमा डिजिटल प्रविधि पनि नजोडेको होइन’, श्रेष्ठ भन्छन्–‘पुरानो हल भएकाले मानिसहरु राम्रो हलतिर राम्रा फिलिम हेर्न आकर्षित भए । विस्तारै विस्तारै हल चल्न छोड्यो ।’
सञ्चालक श्रेष्ठका अनुसार यो हल बीचमा केहि वर्ष सम्पत मल जैन, केदार राठी लगायत अन्य उद्यमीहरुले पनि चलाए, नसकेर छाडे । कोरोनाका कारण लकडाउन भएपछि सिनेमा हलमा दर्शक फर्किने अवस्था रहेन ।
सुरुका दिनमा श्रेष्ठ परिवारले बिर्तामोडको उर्वसी सिनेमा हल पनि साझेदारीमा सञ्चालन गरेको बताएको छ । उद्यमी ब्रिजमोहन शर्मासँग साझेदारीमा सो हल सञ्चालन गरेको चन्द्रकुमारको भनाइ छ ।
धुलाबारीमा श्रेष्ठ परिवारले सिनेमा हल सञ्चालन गर्नुअघि समाजसेवी मकरध्वाज बुढाथोकीले पनि २०२५ सालतिर मिनी सिनेमा हल सञ्चालनमा ल्याएका थिए ।
बुढाथोकीले धुलाबारी मोडदेखि पाँचसय मिटर दक्षिणको बाटो छेउमा अस्थायी रुपमा टेन्ट लगाएर टुरिङ टाकिज सञ्चालनमा ल्याएको चन्द्रकुमारको भनाइ छ ।
Discussion about this post