झापा, २ माघ । चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती ‘ध्रुवे’को आक्रमणबाट नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ ।
निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गण अन्तर्गतको ध्रुव पोष्टमा कार्यरत अमल्दार गुप्तबहादुर थापामाथि शनिबार साँझ ध्रुवे हात्तीले आक्रमण गरेको थियो ।
साइकलमा रात्री गस्तीमा निस्किएका सैनिकहरूमाथि पौने ७ बजेतिर ध्रुवे हात्तीले आक्रमण गरेको थियो । घाइते सैनिकको उपचारका क्रममा राति सवा ११ बजे भरतपुर मेडिकल कलेजमा मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
‘तीन जना अगाडि गइसक्नुभएको रहेछ । उहाँ चौथो नम्बरमा हुनुहुँदो रैछ । अचानक बाटोमा आएको हात्तीले उहाँको ढाडमा किचेछ,’ सूचना अधिकारी तिवारीले भने । गस्तीमा गएका अरू सैनिकहरू भने सुरक्षित छन् ।
सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार थापाको शव अहिले भरतपुर मेडिकल कलेजमा राखिएको छ । ‘उहाँका परिवारलाई खबर गरिसकिएको छ । भरतपुर पुगेपछि शव हस्तान्तरण हुन्छ,’ उनले भने ।
२०६६ सालतिर चितवन निकुञ्ज क्षेत्रमा देखा परेको यो जंगली भाले हात्तीले यसअघि १५ जनाको ज्यान लिएको थियो । ध्रुवेले ०६६ सालमा एकजना, ०६७ मा तीन जना, ०६८ मा एक र ०६९ मा १० गरी १५ जनाको ज्यान लिएको थियो । यो हात्तीले ५० वटा घर भत्काएको र टाइगर टप्स होटलको एउटा भाले हात्ती पनि मारेको निकुञ्ज कार्यालयको तथ्यांक छ ।
धेरै मान्छेको ज्यान लिएपछि ध्रुवे हात्तीलाई मार्न राज्य नै लागेको थियो । ध्रुवेलाई मार्न १६ लाख रुपैयाँ खर्च भयो तर उँ एकाएक गायब भयो । पछिल्लो समय ध्रुवे शान्त देखिन्थ्यो ।
Discussion about this post