इलाम, २२ माघ । सुरुङ्गाको चर्चित हेप्पी लेण्ड पार्कको सिक्वेलको रुपमा इलाम नगरपालिकामा पनि सञ्चालनमा आएको छ ।
इलामको माई नगरपालिका–२ स्थित चेप्टीमा पनि सुरुङ्गाको सिक्वेल ‘हेप्पी ड्रिम्स चेप्टी’ सञ्चालनमा आएको हो ।
सुरुङ्गाको हेप्पी लेण्ड पार्कका सञ्चालक दिनेश शिवाकोटीले चेप्टीमा ‘हेप्पी ड्रिम्स चेप्टी’ स्थापना गरेका हुन् । केबलकारको योजनासहित ब्यवसायी शिवाकोटीले चेप्टीमा तीनसय रोपनी क्षेत्रफल मध्ये दुईसय रोपनी जग्गा खरिद गरेका छन् । एकसय रोपनी आवधिक जग्गामा सो पार्क सञ्चालनमा ल्याईएको छ ।
चेप्टी पार्क पुग्न सुरुङ्गादेखि ५ र बिर्तामोडदेखि २४ किलोमिटर उत्तर पश्चिम लाग्नु पर्छ । दानाबारी पुग्नुअघि शुक्रबारे बजारबाट थोरै मात्रमा उत्तर पश्चिम जानुपर्छ ।
केबलकार र जीप लाइनसहित २ अर्वको लगानीमा पर्यटकीय क्षेत्र सम्पन्न गर्ने योजना रहेको ‘हेप्पी ड्रिम्स चेप्टी’का व्यवस्थापक बद्री महतले जानकारी दिए । उनका अनुसार हेप्पी ड्रिम्स चेप्टीसँगै धार्मिक पर्यंटकीय स्थलको रुपमा पनि विकास गरिने र जीप लाइनको नाप नक्सा तयार भइसकेको छ ।
चेप्टीमा घोडा, उट, बालबालिकाका लागि प्लेन, पिङ, पिकनिक स्पट, बोटिङ, १८० फिट अग्लो झरना, आकर्षक हिमाल, हिमालबाट बग्ने झरना, रक गार्डन, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु, ड्राइगन, हात्ती, जेब्रा लगायत बालबालिका, ज्येष्ठ नागरिकहरुका लागि मनोरञ्जनात्मक हेर्ने तथा खेल्ने संरचनाहरु तयार भएका छन् ।
‘अहिले ४० प्रतिशत मात्रै काम भएको छ’, सञ्चालक शिवाकोटीले भने–‘देशकै नमुना पार्क बनाउने उद्देश्यका साथ लागि परेका छौँ । धार्मिक पर्यटकिय स्थलका रुपमा विकाससँगै सेल्फी डाँडा, जम्पिङ, केवलकार, जिपलाइन, वोटिङ लगायतका कामहरु बाँकी रहेको छ ।’
अब आउदै गरेको नेपाली नयाँ बर्ष बैशाख १ गते चेप्टीमा एकलाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यका साथ काम धमाधम भइरहेको उनले बताए ।
अहिले पनि दैनिक एकसय भन्दा बढी पर्यटकहरु यहाँ आउँने गरेको व्यवस्थापक महतले बताए । शनिवार, पर्वहरु र सार्वजनिक बिदाका दिन एक हजार भन्दाबढी पर्यटकहरु आउने गरेको उनको भनाई छ ।
केहि दिनअघि चेप्टी पुगेका अभिनेता शिव श्रेष्ठले सवैको साथ र सहयोग भए ‘हेप्पी ड्रिम्स चेप्टी’ मा फिल्म सिटी बनाउने बताएका थिए ।
अभिनेता श्रेष्ठसँगै चेप्टी पुगेका कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेल, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ र माई नगरपालिका २ का वडाअध्यक्ष खम्बासिंह लिम्बुले पनि ‘हेप्पी ड्रिम्स चेप्टी’ देशकै उत्कृष्ट पर्यटकीय स्थल बन्ने दावी गरे ।
शुक्रबार छड्के अनुसन्धान मिडियाले मेचीनगरका पत्रकारहरुलाई ‘हेप्पी ड्रिम्स चेप्टी’ मा अवलोकन तथा बनभोजको कार्यक्रम आयोजना गरेको थियो । सोहि अवसरमा ‘हेप्पी ड्रिम्स चेप्टी’ का व्यवस्थापक महतले पत्रकारहरुलाई त्यहाँको बारेमा जानकारी गराएका थिए ।
Discussion about this post