झापा, २ फागुन । विनाकसुर करिब ४० बर्ष भारतीय जेलमा जीवन विताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आइतवार नेपाली आठ लाख रुपैयाँ उपचार वापतको राहत रकम पाएका छन् ।
काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले सो रकम बराबरको चेक तिम्सिनालाई हस्तान्तरण गरेका हुन् ।
भारतको उच्च अदालत कोलकाताले गत मंसिर २१ गते शुक्रवार तिम्सिनालाई भारु पाँच लाख उपचार वापतको रकम दिलाउन पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो ।
सोही आदेश बमोजिमको रकम उनलाई हस्तान्तरण गरिएको महावाणिज्यदूत पौडेलले बताए ।
“यो क्षतिपूर्ति वापतको रकम होइन, लामो समय विनाकसुर जेल जीवन विताउँदा उहाँ विरामी पर्नुभएको छ,” उनले भने–“उपचारका लागि अदालतले उपलब्ध गराइदिएको रकम मात्र हो । क्षतिपूर्तिका लागि मागदाबी गर्ने अब बाटो खुलेको छ । प्रक्रियामा जाने तयारीमा छौं ।”
उनका अनुसार सो रकम हस्तान्तरण कार्यक्रममा दुर्गाप्रसादका परिवारका सदस्य तथा प्रदेश सांसद धिरेन्द्र शर्मा, भतिजा गोपाल तिम्सिनाको उपस्थित रहेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली, स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।
इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे बजार गए पनि घर नआई सो पैसा लिएर भारतको दार्जीलिङ शहर पुगेका थिए ।
दार्जीलिङमा रहँदा उनलाई एक युवतीको हत्या आरोपमा जेल चलान गरिएको थियो ।
सो आरोप मिथ्या सावित भएपछि वि.संं. २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । उनी गत चैत ७ गते कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।
उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा, प्रदीप मण्डल, मलाई भट्टाचार्य र सुब्रज्योति घोषले दुर्गाप्रसादको न्यायको पक्षमा भन्दै निःशुल्क बहस गरेका थिए ।
Discussion about this post