झापा, ८ फागुन । झापा गोल्डकपले आउँदो फागुन २१ गते सुरु हुने पाँचौं संस्करणको फुटबल प्रतियोगिताका लागि ‘हात्तीको छावा’लाई मस्कट बनाएको छ ।
आयोजकले शुक्रवार मस्कट र खेल गीत सार्वजनिक गरेको छ । मस्कटको निर्माण प्राज्ञ तथा कलाकार पवन राजवंशीले गरेका हुन् ।
मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ ।
गोल्ड कपले पहिलोपटक औपचारिक गीत निर्माण गरेको हो । झापाको भूगोल र यहाँको फुटबलप्रतिको लगावलाई समेट्दै झापालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको आयोजक गोल्डकपका संयोजक बिनोद बस्नेथले बताए ।
गीतकार वसन्त थाम्सुहाङको रचना रहेको गीतमा पारस मुकारुङले संगीत भरेका हुन् । गीतमा गायक डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ ।
त्यस्तै, पाँचौँ झापा गोल्ड कपको औपचारिक मस्कटका रुपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको उनले बताए । छावाले फुटबल किक गर्दै गरेको प्रतिकका रुपमा मस्कट निर्माण गरिएको छ ।
त्यस्तै, यो वर्षको झापा गोल्ड कपको नारा ‘डोमालाल राजवंशी रंगशालाको संरक्षण, ‘हाम्रो गौरव, हाम्रो मान, झापा गोल्डकप हाम्रो सान’ नारा तय गरिएको छ ।
Discussion about this post