झापा, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोशी राख्दा ठिक हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल प्रदेश नं १ को शनिबार बिर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोशी प्रदेश’ राख्दा ठिक हुने बताएका हुन् ।
‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेका छ’, अध्यक्ष ओलीले भने– ‘यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोशी राख्दा हुन्छ ।’
प्रेस चौतारीको अधिवेशनको उद्घाटन गर्नुअघि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अर्जुनधारा नगरपालिका स्थित सालबाडीमा रहेका पाँच शहीदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईंकेल र नारायण श्रेष्ठको सालिकमा माल्र्यपण गरेका थिए ।
Discussion about this post