धुलाबारी, १० असार । झापा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य राम कार्कीले नगरपालिकामा ट्रेड युनियन र पार्टीहरु हावी भए नागरिकले भने अनुसारको सेवा पाउन नसक्ने बताएका छन् ।
शुक्रबार धुलाबारी स्थित टाउन हलमा आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम वैठकलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
‘ट्रेड युनियनमा आवद्व कर्मचारीका कारण भारतको बंगालमा कम्युनिष्ट पार्टीहरु सकिए’, माओवादी केन्द्रका नेतासमेत रहेका कार्कीले भने–‘उताको सिको यता मेचीनगर नगरपालिकामा नहोस् । ट्रेड युनियन र पार्टीका नेताहरु हावी भए जनताले राम्रो सेवा पाउन मुस्किल छ ।’
उनका अनुसार जनप्रतिनिधिलाई नगरपालिकामा स्वतन्त्र भएर काम गर्न दिनुपर्छ । संघीय सरकारको पूर्व सञ्चारमन्त्री समेत रहिसकेका कार्कीले पाचँ वर्षमा जनप्रतिनिधिले काम गरेको अनुभुति नगरवासीले महसुस गर्ने वातावरण बनाउन सबैलाई आग्रह गरेका थिए ।
‘वर्षेनी आउने बजेट परम्परागत मात्र हो’, –‘यसलाई सहि ठाउँमा सदुपयोग गर्न सके नगरवासीको भविश्य राम्रो हुन्छ । नागरिकको क्षमता अभिवृद्विमा बढी ध्यान दिन जरुरी छ । त्यसमा ध्यान दिन नसके असफल भईन्छ ।’
कार्यक्रममा संविधान सभाका सदस्य रविन कोइराला, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, प्रदेश नम्बर १ का सांसदहरु श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर नगरपालिकाका निर्वतमान नगरप्रमुख विमल आचार्य, एमालेका नगर अध्यक्ष राजु पोखरेल, नेपाली काँग्रेसका नगर सभापति सुदय पनेरु, माओवादी केन्द्रका क्षेत्रीय इन्चार्ज पुष्प गुरगाई, राप्रपा नगर अध्यक्ष सविना बजगाई, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, जिसस झापाकी सदस्य तुलसा काफ्ले बराल लगायतले बजेटका बारेमा चर्चा गरेका थिए ।
नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने २०७९÷८० को बजेट र आर्थिक विधेयक उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् । नगर सभाको सञ्चालन वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।
Discussion about this post