झापा, १४ असार । जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईमा मंगलबार विहानैदेखि बाढी आउँदा कम्तीमा एक सय घर डुबानको चपेटामा परेका छन् ।
शिवसताक्षीको शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो । सुरक्षाकर्मी, रेडक्रस र स्थानीयबासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कन्काई बाढीको ठूलो भँगालो सो बस्तीमा पसेको छ । बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले मंगलबार विहानैदेखि भारी वर्षा भइरहेका कारण जिल्लाको धेरै स्थानमा घरबस्ती डुवानमा परेको जानकारी आइरहेको बताए ।
शिवसताक्षीकै पाँचगाछीस्थित सन्थाल बस्ती पनि डुवानमा परेको छ । बस्ती डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा लगिएको ढकालले जानकारी दिए ।
झापाका मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा पानीको सतह बढेको छ । विभिन्न नदीमा आएको बाढीले भद्रपुर, कचनकवल, झापा, शिवसताक्षी, गौरीगञ्ज, गौरादह, मेचीनगर र दमकका थुप्रै बस्ती प्रभावित भएका छन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी लगायत परिचालित भइसकेका छन् ।
Discussion about this post