झापा, २४ भदौ । बिर्तामोड स्थित मनकामना कलेज तथा माविले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गरेको छ ।
विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा एजुकेशनल कोअर्डिनेटर कुमार थपलियासहित विभागीय प्रमुखहरुले विद्यालयको नीति, नियम आचार संहिताबारे प्रकाश पारेका थिए ।
कोअर्डिनेटर थपलियाले विद्यार्थीहरुलाई क्याम्पस परिसरभित्र पालना गर्नुपर्ने आचारसंहिता तथा अनुशासनका विषयसँगै मनकामनाको दुई दशक लामो यात्राबारे प्रकाश पारेका थिए । मनकामनाबाट उत्पादित जनशक्तिहरुले प्रहरी, प्रशासन, शिक्षण, पत्रकारिता, बैंक, व्यवसाय लगायतका क्षेत्रमा आफ्नो परिचय बनाउन सकेको अवगत गराए ।
बिर्तामोडको एक पार्टी प्यालेसमा सम्पन्न दिवा भोजसहितको उक्त कार्यक्रममा विभागीय प्रमुखहरु विजय तिम्सिना, भेषराज चौंलागाई, सुधिर सुवेदी र उदयकुमार कटुवालले विषयगत मन्तब्यसहित विद्यार्थीलाई अभिमुखीकरण गराएका थिए ।
पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख गोपाल काफ्लेले सञ्चालन गरेको कार्यक्रममा अंग्रेजी विषयका अध्यापक शुभला तामाङले शाब्दिक स्वागत गरेकी थिइन् ।
कार्यक्रममा नेपाल आइडलका फाइनलिष्ट गायक प्रताप दासले केही गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए । नेपाली चलचित्र ‘प्रेमगीत ३’ को प्रचार अभियानमा कार्यकारी निर्माता चक्रबहादुर चन्दसहितको टोली झापा आएको अवसरमा गायक दासले मनकामनाका विद्यार्थीहरुलाई गीतमार्फत् मनोरञ्जन दिलाएका थिए ।
सो अवसरमा छात्रा अनामिका पौडेल, छात्र देवराज ऋषिदेव र सन्देश विकले गीत गाएका थिए भने छात्रा सुवर्ण तामाङले उच्च अध्ययनका लागि मनकामना कलेज तथा विद्यालय रोज्न पाएकोमा गौरव लागेको बताइन् ।
Discussion about this post