मेचीनगर, १३ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा झापा–१ बाट विजयी उम्मेदवारलाई प्रमाण पत्र प्रदान गरिएको छ ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ ले मेचीनगर नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्यमा निर्वाचित विश्वप्रकाश शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी गोपाल तामाङ र २ बाट विजयी सविना बजगाईँलाई प्रमणपत्र प्रदान गरिएको हो ।
निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत टंकबहादुर महतले निर्वाचित तीनैजना विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान गरेका थिए । सहायक निर्वाचन अधिकृत रामचन्द्र बस्नेतले सञ्चालन गरेको कार्यक्रममा वक्ताहरुले निर्वाचित उम्मेदवारलाई शुभकामना व्यक्त गरेका थिए ।
उनीहरुले हिजो निर्वाचनका बखत जो जो जुन राजनीतिक दलबाट उम्मेदवार भएपनि निर्वाचित भईसकेपछि साझा बनेर काम गर्न सुझाव दिएका थिए । निर्वाचत सवैबाट जनताले विभिन्न अपेक्षा गरेका कारण रोजगारीका लागि विदेशीने क्रमलाई रोक्न, शिक्षा, स्वास्थ्य लगायतका विकास निर्माणदेखि कर्मचारीले कार्यान्वयन गर्न सक्नेमात्र नीति निर्माण बनाउन लाग्नु पर्नेमा वक्ताहरुको जोड थियो ।
स्थानीय सरकारको तर्फबाट मेचीनगर नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, नेकपा एमालेका १ नम्बर प्रदेश कमिटी सदस्य एवम् सांसद श्रीप्रसाद मैनाली, नेपाली काँग्रेसका १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेचीनगर सचिव विशालकृष्ण बाँस्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी तामाङ र २ बाट विजयी बजगाईले प्रतिवद्घता व्यक्त गरेका थिए ।
झापाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदिपजंग कार्की, जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपाल, कोलेनिका प्रमुख मधु पोखरेल लगायत विभिन्न दलका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Discussion about this post