झापा, २९ माघ । बिर्तामोडको बिएण्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईले काँकरभिट्टाबाट सुरु हुने ‘नागरिक बचाउ महाअभियान’मा पूर्वराजा ज्ञानेन्द्र शाह आउने बताएका छन् ।
प्रसाईले सोमबारदेखि मेची पुलबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउन महाअभियान प्रारम्भ गर्ने भएका हुन् । प्रसाईले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर सो दावी गरेका छन् ।
महाअभियानमा पूर्वराजा शाहसहित पूर्व युवराज पारश शाह र राजपरिवारका अन्य सदस्य समेत आउने उनको भनाई छ ।
‘देशलाई मुक्ति चाहिएको छ । मैले पूर्वराजालाई निम्तो दिन जाँदा उहाँको पुरै परिवारले नै आउने आश्वासन दिनुभयो,’ पत्रकार सम्मेलनमा प्रसाईले भने ।
तामाको नौमुखे दियो बालेर मेची पुलबाट महाअभियान महाकालीमा पुगेर मात्र टुंगिने उनले बताए ।
उद्घाटन कार्यक्रममा दुई लाख मानिस उतार्ने उनको दावी छ । लघुवित्त र बैंकहरुले चर्को ब्याजदर लगाएर जनतालाई आत्महत्या गर्न बाध्य पारिरहेको आरोप लगाउँदै उनले २० लाख रुपैयाँभन्दा कम ऋण राज्यले मिनाहा गरिदिनु पर्ने माग गरे ।
बैक तथा वित्तीय संस्थाहरु र गणतन्त्रको विरुद्ध गालीमा धेरै समय खर्चिएका प्रसाईले मुलुकलाई २०४६ चैत २६ गते अघिको अवस्थामा पुत्राउनु पर्ने राजवादी धारणा समेत व्यक्त गरे ।
‘व्यवस्था बदल्नु पर्छ, अनि मात्र अवस्था बदलिन्छ,’ नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका उनले भने–‘आवश्यक पर्यो भने म जत्तिखेर पनि एमालेको सदस्यता त्याग्न तयार छु ।’
नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना गर्दै उनले राप्रपाको लक्ष्य सत्तामा पुगेर मन्त्री बनेपछि पूरा भइसकेको टिप्पणी गरे ।
Discussion about this post