झापा, ७ फागुन । नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई निष्कासनको प्रक्रिया अगाडि बढाएको छ ।
प्रदेश १ कमिटीले पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको केन्द्रीय सदस्य रविन कोइरालाले बताए ।
‘पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरेका छौं’ कोइरालाले भने, ‘अब पार्टी केन्द्रले त्यो प्रक्रिया पूरा गर्नेछ ।’
प्रसाईंले १ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए । ‘ज्ञानेन्द्र शाहलाई झापामै ल्याएर कार्यक्रम गरेपछि पार्टीबाट निस्काशन गर्ने निर्णय गर्नु परेको हो’, केन्द्रीय सदस्य कोइरालाले भने ।
शुक्रबार बसेको प्रदेश कमिटीले प्रसाइलाई निष्कासनको सिफारिस गरेको उनले बताए । प्रदेश कमिटीको यस्तो निर्णयपछि प्रसाईंले एमालेबाट राजीनामा दिने घोषणा गरेका छन् ।
आइतबार झापामा पत्रकारहरुसँग प्रसाईंले काठमाडौं गएर राजीनामा बुझाउने बताएका छन् । प्रसाईंलाई गत वर्ष २६ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
उनलाई एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति विभागको सहइन्चार्जको जिम्मेवारी दिएको थियो ।
(अनलाइन खवर)
Discussion about this post