मेचीनगर, ११ फागुन । मेचीनगर नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधि सेवन कार्यक्रम शुभारम्भ भएको छ ।
नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रमबीच नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले औषधि सेवन गरेर नगरस्तरिय औषधि सेवन कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, नगर उपप्रमुख मीना पोखरेल उप्रेती, निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी, कार्यापालिका सदस्य तथा भौतिक पूर्वाधार संयोजक चित्र धिमाल लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले पनि औषधि सेवन गरेका थिए ।
‘मेचीनगरको आव्हान, हात्तीपाईले रोग मुक्त नगर हाम्रो अभियान’ भन्ने मुलनाराका साथ फागुन ११ देखि १७ गतेसम्म नगरका सबै वडाहरुमा हात्तीपाइले रोग विरुद्वको औषधि सेवन कार्यक्रम सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् ।
औषधि सेवन शुभारम्भ कार्यक्रममा नगरप्रमुख बुढाथोकीले हात्तीपाइले रोग विरुद्वको औषधि अनिवार्य सेवन गर्न नगरवासी सबैलाई आग्रह गरे । उनले अघिका वर्षहरुमा औषधिको बारेमा गलत हल्ला भएका कारण धेरै सर्वसाधारणले औषधि सेवन नगरेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न पनि आग्रह गरे ।
हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्ने गर्दछ । सरकारले यस रोगको जोखिम भएका झापा लगायतका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन गरेको छ ।
२ वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी), छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्न नहुने चिकित्सकको भनाई छ ।
Discussion about this post