झापा, १३ फागुन । राष्ट्रपतिका उम्मेद्वार सुवासचन्द्र नेम्बाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने बताएका छन् ।
नेकपा एमालेले पूर्व सभामुख नेम्बाङलाई उम्मेदवार बनाएको छ ।
पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको बताए । त्यही संविधानको संरक्षक हुने अवसरका लागि हिँडेको भन्दै उनले भने, ‘राष्ट्रिय सहमति मेरो हकमा पनि हुनसक्छ ।’
नेम्वाङको मनोनयनको प्रस्तावकमा पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र छविलाल विश्कर्मा रहेका छन् । समर्थकमा एमालेकै नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी थापा (रावल) र अमनकुमार मास्के रहेका छन् ।
यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका हुन् ।
पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् ।
त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् ।
Discussion about this post