मेचीनगर, २५ फागुन । काँकरभिट्टा बहुमुखी क्याम्पसले आफ्नो भोगाधिकारभित्रको जग्गा भानु साहित्यिक प्रतिष्ठानको नाममा दर्ता नगराउन माग गरेको छ ।
मेचीनगर–६ स्थित सतिघट्टा रोडमा रहेको १५ कठ्ठा जग्गामा क्याम्पस र प्रतिष्ठान दुवैको भौतिक संरचना छन् ।
क्याम्पसले आज मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै प्रतिष्ठानको नाममा जग्गा दर्ता गर्ने कुनै पनि कार्य अमान्य हुने जनाएको छ ।
क्याम्पसको भोगाधिकार र घेराबेराभित्र रहेको जग्गामा प्रतिष्ठानलाई कार्यालय भवन र आदिकवि भानुभक्तको शालिक बनाउन अस्थायी सहमति मात्र दिइएको उल्लेख गर्दै क्याम्पसले बुझाएको ज्ञापन पत्रमा सो जग्गा क्याम्पसकै नाममा दर्ता हुनुपर्ने भनिएको छ ।
क्याम्पसका अध्यक्ष कमल थापा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती र प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीलाई ज्ञापन पत्र बुझाएका थिए ।
‘क्याम्पसको अधिकार र घेराबेराभित्रको जग्गा अरु कसैलाई दर्ता गरिदिने कार्य अमान्य हुने कुरा हामीले ज्ञापन पत्र बुझाउँदै भनेका छौं,’ क्याम्पस प्रमुख उप्रेतीले भने–‘मेयरले हाम्रो माग सुनिसकेपछि अहिले कुनै निर्णयमा नगरपालिका नपुगिसकेको बताउँदै कार्यपालिकाले उचित निर्णय लिने भनिएको छ ।’
मेयर बुढाथोकी क्याम्पसको माग बारेमा सकारात्मक रहेको उप्रेतीले दावी गरे । जग्गा प्राप्ति गर्नेहरुको सूची फेसबुकमा लेखेको पाइएपछि प्रतिष्ठानको नाममा क्याम्पसको जग्गा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको जानकारी पाएको समेत उनले बताए ।
Discussion about this post