हल्दिबारी, १९ चैत । हल्दिबारी–३ की सामाजिक अभियन्ता ईश्वरा तिवारी र खड्ग तिवारीले १० लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान दिएका छन् ।
तिवारी दम्पत्तिले सो जग्गा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाललाई दान गरेका हुन् । जग्गादातालाई प्रतिष्ठानले आज एक कार्यक्रमबीच हल्दिबारीको पाराखोपीमा सम्मान गरेको थियो ।
दाता परिवारलाई फुलमाला र अबिर लगाएर हल्दिबारी–३ का वडाध्यक्ष हरिप्रसाद ओली, अभियानका झापा अध्यक्ष शंकर भट्टराई र विश्व हिन्दू परिषद् झापाका अध्यक्ष होमनाथ ढुंगेलले सम्मान गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष भट्टराईले कोशी प्रदेशमै पहिलोपल्ट बाल संस्कार केन्द्रका लागि जग्गा प्राप्त भएको भन्दै खुशी व्यक्त गरे ।
प्रतिष्ठानले झापाका २५ स्थानमा हिन्दू धर्म, संस्कार र नैतिक शिक्षा प्रदान गर्ने बाल संस्कार केन्द्र सञ्चालन गर्दै आएको भट्टराईले बताए । अभियन्त पं. सोमनाथ सुवेदीले बाल संस्कार केन्द्र ६४ जिल्लामा सञ्चालन भइरहेको बताए ।
समाजसेवी सत्येन्द्र कर्णले स्वागत गरेको सो अवसरमा पिताम्बर बराल, शिवप्रसाद दाहाल, भरत मैनाली, खिनामाया खनाल, मित्रलाल ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।
अर्जुनधारामा अन्तरक्रिया
अर्जुनधारा–६ मा स्थानीय अभिभावकहरुसँग जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियानले आज अन्तरक्रिया गरेको छ ।
सो वडाका वडाध्यक्ष हरिश्चन्द्र बाँस्तोलाले अभियानको सोच र कार्यक्रम समाजका लागि अति उपयोगी भएको जनाउँदै बालबालिकाहरुलाई असल संस्कार सिकाउने अभियानमा आफ्नो सँधै सहयोग रहने बताए ।
अर्जुनधारा–६ मा झापा र इलामका एकल विद्यालयका आचार्यहरुको सात दिने वर्गभेला चैत २१ गतेदेखि आयोजना हुने बताउँदै उनले त्यसमा सहयोग पुर्याउन आग्रह गरे ।
Discussion about this post